काठमाडौंका १० क्षेत्रबाट एमालेका उम्मेदवारको नाम सिफारीस, कुन क्षेत्रबाट को को उम्मेद्धवार ?

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ भाद्र २०७९, शुक्रबार
3 Min Read
Aa

नेकपा (एमाले)ले आगामी प्रतिनिधि सभाको निर्वाचनका लागि काठमाडौंका १० वटा निर्वाचन क्षेत्रबाट उम्मेदवारको नाम सिफारिश गरेको छ ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय समितिको बैठकले सम्बन्धित निर्वाचन क्षेत्रका उम्मेदवारका लागि नाम सिफारिश गरेको हो। जस अनुसार, काठमाडौं-१ मा विदुर मैनाली, रूपनारायण श्रेष्ठ र टीकाराम भट्टराईको नाम सिफारिश भएको छ। मैनाली काठमाडौं महानगरका पूर्व उपमेयर हुन् भने श्रेष्ठ एमालेका केन्द्रीय सदस्य र भट्टराई वरिष्ठ अधिवक्ता हुन्।

काठमाडौं-२ बाट मणिराम फुयाँलको नाम सिफारिश भएको छ। फुयाँल बागमती प्रदेश सभाका सांसद हुन्।

त्यस्तै, काठमाडौं-३ बाट बहालवाला सांसद कृष्ण राईको नाम सिफारिश भएको छ। राई एमालेका केन्द्रीय सदस्य हुन्।

काठमाडौं-४ मा राजन भट्टराई र निर्मल कुइँकेलको नाम सिफारिश भएको थियो। कुइँकेलले फिर्ता लिएका छन्। याे क्षेत्रबाट सिफारिशमा परेका भट्टराई एमाले स्थायी कमिटीका सदस्य हुन्।

यसै गरी काठमाडौं-५ बाट एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम सिफारिश भएको छ। २०७४ सालमा भएको निर्वाचनमा उनी त्यही क्षेत्रबाट निर्वाचित भएका थिए।

काठमाडौं-६ बाट योगेन्द्र संग्रौला, लेखनाथ फुयाँल, कल्पना रिजाल, प्रेमराज सिलवाल, माताप्रताप थापा, मीना थापा र हरिशरण तिमल्सिनाको नाम सिफारिश भएको छ। संग्रौला प्रदेश सांसद हुन् भने प्रदेश कमिटीका सदस्य फुयाँल पूर्व गाविस अध्यक्ष हुन्। रिजाल र सिलवाल बागमती प्रदेश कमिटीका सदस्य हुन् भने प्रहरीबाट जागीर छाडेर राजनीतिमा आएका थापा तारकेश्वर नगर कमिटीका सहसचिव हुन्। त्यसै गरी तिमल्सिना काठमाडौं जिल्ला कमिटीका सदस्य हुन्।

काठमाडौं-७ बाट इन्दिरा पन्त, बीपी ढकाल र श्याम घिमिरेको नाम सिफारिश भएको छ। सिफारिश भएका पन्त एमाले स्कूल विभागकी सदस्य हुन् भने घिमिरे प्रदेश कमिटीका सदस्य र ढकाल भर्खरै एमाले प्रवेश गरेका नेता हुन्। यस क्षेत्रमा रघुजी पन्त र विद्यासुन्दर शाक्यको नाममा पनि छलफल भएको थियो। पूर्व मेयर शाक्य र पन्तको पनि नाममा छलफल भएको भन्दै क्षेत्रीय समन्वय कमिटीले जिल्ला कमिटीमा पठाएको एक नेताले बताए।

काठमाडौं- ८ मा राजेश शाक्यको नामको सिफारिश भएको छ। शाक्य बागमती प्रदेश सभा सांसद हुन्।

काठमाडौं-९ मा स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ, काठमाडौं महानगरपालिकाका पूर्व मेयर विद्यासुन्दर शाक्य र प्रदेश सभा सांसद अजयक्रान्ति शाक्यको नाम सिफारिश भएको छ।

त्यसै गरी काठमाडौं-१० मा जिफन्टका अध्यक्ष विनोद श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य सुरेन्द्र मानन्धर, कीर्तिपुर नगरपालिकाका पूर्व मेयर रमेश महर्जन, बागमती प्रदेश कमिटीका सदस्य शरव महर्जन र काठमाडौं जिल्ला कमिटीका सदस्य हिमेश केसीको नाम सिफारिश भएको छ।

प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको बैठकले बुधबार नाम सिफारिश गरेर पठाएको एमाले काठमाडौं जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले बताए। आइतबार बस्ने जिल्ला कमिटीको बैठकले अहिले आएका नाम सहित अन्य नाममा छलफल गरेर प्रदेश कमिटीमा पठाउने उनले बताए।

प्रदेश कमिटीलाई भदौ २२ गतेभित्र उम्मेदवारको नाम केन्द्रमा बुझाउने समयसीमा तोकिएको छ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array