गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री देउवा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १८ भाद्र २०७९, शनिबार
4 Min Read
Aa

काठमाण्डौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय स्वास्थ्यलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रजातन्त्रवादी चिकित्सक सङ्घले आज लैनचौर ब्याङ्वेटमा आयोजना गरेको ‘सम्मान तथा शुभकामना आदानप्रदान’ कार्यक्रममा उहाँले संविधानले स्वास्थ्य र शिक्षा क्षेत्रलाई मौलिक अधिकारका रूपमा ग्यारेन्टी गरेको बताउनुभयो ।

“समृद्ध नेपाल निर्माणमा स्वास्थ्य क्षेत्रको महत्वपूर्ण भूमिका छ, यसलाई सरकारले प्राथमिताका साथ बजेट विनियोजन गरेको छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो । आम नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक स्रोत साधनको व्यवस्थालाई सरकारले प्राथमिकता दिएको उहाँले उल्लेख गर्नुभयो । उहाँले कोभिड–१९ को समयमा चिकित्सकले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गर्दै कोरोना महामारीको समयमा खटिएका चिकित्सकलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्नुभयो । सरकारले चिकित्सा शिक्षालाई सस्तो, सुलभ र सबैको पहुँचमा पु¥याउन काम गरिरहेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री देउवाले ग्रामीण क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य र सहज उपचार पाउने गरी सरकारले काम गरिरहेको बताउनुभयो । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएको उल्लेख गर्दै उहाँले निर्वाचनमा कांग्रेसको पक्षमा जनमत सिर्जना गर्न प्रजातन्त्रवादी चिकित्सक सङ्घको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । सरकारले निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न लागेको उहाँले बताउनुभयो ।

कांग्रेस उपसभापति धनराज गुरुङले मुलुकको हरेक आन्दोलनको नेतृत्व कांग्रेसले गरेको उल्लेख गर्दै समृद्ध नेपालको नेतृत्वका लागि आगामी निर्वाचनमा पार्टीलाई पहिलो बनाउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा कांग्रेस नेता डा शेखर कोइरालाले स्वास्थ्य क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न नसकेको गुनासो गर्नुभयो । “सरकारले देशको कुल बजेटको जम्मा पाँच दशमलव ७५ प्रतिशतमात्र स्वास्थ्य क्षेत्रका लागि छुट्टयाएको छ, उक्त बजेट स्वास्थ्य क्षेत्रका लागि एकदमै न्यून हो”, उहाँले भन्नुभयो । नेता कोइरालाले कुनै पनि देशलाई समृद्ध बनाउनका लागि स्वास्थ्य र शिक्षामा बजेट पर्याप्त मात्रामा उपलब्ध गराउनुपर्ने बताउनुभयो । जनतासँग प्रत्यक्ष जोडिएको स्वास्थ्य र शिक्षा मन्त्रालयलाई आगामी दिनमा कांग्रेस आफँैले राख्नुपर्ने उहाँको भनाइ थियो । उहाँले पार्टी र संसद्का महत्वपूर्ण क्षेत्रमा पेशागत क्षेत्रको प्रतिनिधित्व गराउन सकेमात्र देशको विकास हुने स्पष्ट पार्नुभयो ।

कांग्रेस पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले दुर्गम क्षेत्रका जनतालाई स्वास्थ्य सेवा प्रदान गर्न प्रजातन्त्रवादी प्राध्यापक सङ्घले भूमिका खेल्नुपर्ने बताउनुभयो । आगामी मङ्सिरमा हुन लागेको निर्वाचनमा चिकित्सकहरूलाई टिकट दिएर सम्मान गर्नुपर्ने उहाँको भनाइ थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका स्वास्थ्य सल्लाहकार डा आरपी विच्छाले वर्तमान सरकारले सबै नेपालीलाई खोपको सुनिश्चितता गरेर प्रशंशनीय काम गरेको बताउनुभयो । “कोरोनाको उपचारमा खटिएका चिकित्सक तथा नर्सलाई भत्तादेखि लिएर चिकित्सकको सुरक्षाका लागि बनेको ऐन पास गरेर चिकित्सा क्षेत्रमा सरकारले उल्लेखनीय काम गरेको छ”, उहाँले भन्नुभयो ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा लोचन कार्की, प्रजातन्त्रवादी चिकित्सक सङ्घका पूर्वअध्यक्ष डा केदारनरसिंह केसी, प्रजातन्त्रवादी चिकित्सक सङ्घका महासचिव डा मुक्तिराम श्रेष्ठलगायतले नेपालका हरेक आन्दोलनमा नेपालका चिकित्सकले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै चिकित्सकलाई संसद् र पार्टीका विभिन्न तहमा ठाउँ दिन आग्रह गरे ।

विसं २०६६ मा स्थापना भएको प्रजातन्त्रवादी चिकित्सक सङ्घले सातै प्रदेशमा आफ्नो प्रदेश शाखा स्थापना गरी चिकित्सकको हक, हित र अधिकारका क्षेत्रमा काम गर्दै आएको सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले जानकारी दिनुभयो । सो अवसरमा प्रजातन्त्रवादी चिकित्सक सङ्घका पूर्वअध्यक्ष डा केसी, लक्ष्मीराज पाठक र महासचिव डा मुक्तिराम श्रेष्ठलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्