खुर्कोट–घुर्मी सडकखण्डमा एकतर्फी सवारी सञ्चालन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ भाद्र २०७९, बुधबार
1 Min Read
Aa

 सिन्धुली, सुक्खा पहिरोका कारण अवरुद्ध मध्यपहाडी राजमार्ग एकतर्फीरूपमा सञ्चालनमा आएको छ । खुर्कोट–घुर्मी सडकखण्ड अन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुडुलेमा सुक्खा पहिरो खसेका कारण सवारी आवागमन अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीका अनुसार अवरुद्ध राजमार्ग आजदेखि एकतर्फीरूपमा सञ्चालनमा आएको हो । उक्त स्थानमा मङ्गलबार दिउँसोदेखि सुक्खा पहिरो खस्न सुरु गरेको थियो । पहिरो पूर्णरुपमा पन्छाउन सकिने अवस्थामा नरहेको र सडकको छेउको केही भागबाट सवारी एकतर्फीरूपमा सञ्चालन गरी सवारीसाधनलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

सो स्थलमा प्रहरी टोली परिचालन गरी डोजरले पहिरोको केही भाग पन्छाई राजमार्ग सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । डोजरले पूरै पहिरो पन्छाउन नसक्दा दुईतर्फनै सवारी सञ्चालनगर्न कठिनाइ भएको र स्काभेटरले मात्र उक्त पहिरो पन्छाउन सक्ने भएकाले पहल सुरु गरिएको उहाँले बताउनुभयो ।

सडकमा ठूला–ठूला ढुङ्गा माथिबाट खसेका कारण डोजरले पन्छाउन नसकेको हो । खुर्कोट–घुर्मी सडकखण्डमा एक दर्जनभन्दा बढी स्थानमा सुक्खा पहिरो खसेको छ । उक्त सडक खण्डमा एक वर्ष देखि खसेको पहिरो पन्छाउने काम नहुँदा राजमार्गमा सवारीसाधन सहजै आवागमन गर्न पाएका छैनन् ।

सडकको पहिरो पन्छाउन नसक्दा सिन्धुली, उदयपुर, ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बुलगायत पूर्वी पहाडी जिल्लाका यात्रुले यात्रामा कठिनाइ भोग्नुपरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array