नेपालले अमेरीका र क्यानाडालाई निर्यात गर्छ माछा मार्ने बल्छी,यि हुन नेपालबाट निर्यात हुने सामान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ भाद्र २०७९, शनिबार
4 Min Read
Aa

काठमाण्डौं । नेपालमा निर्यात भन्दा आयातका बढदा बार्षिक व्यापार घाटा कहालीलाग्दो रुपमा बढदै गइरहेको छ । कृषि प्रधान देश भएपनि चामल देखि कृषिका धेरै सामानहरु नेपालले बिदेशबाट आयात गर्ने गरेको छ । तर केहि यस्ता सामानहरु छन जुन नेपालले विश्व बजारलाई निर्यात गर्दछ । नेपालले दाह्री काटने रेजर देखि माच्छा मार्ने बल्छी सम्म अमेरीका र क्यानडालाई निर्यात गर्ने गरेको भन्सार बिभागको तथ्यांकमा उल्लेख गरिएको छ । त्यती मात्र होइन नेपाली कुचो, फेल्टका सामान, नेपाली कागज समेत नेपालले निर्यात गर्ने गरेको छ ।
भन्सार विभागको तथ्यांकअनुसार दाह्री काट्ने रेजर र माछा मार्ने बल्छी पनि निर्यात गर्छ । गत आवमा सात करोड ५८ लाखको रेजर र ६३ लाखको बल्छी निर्यात गरेको छ । अमेरिकामा सात लाख रुपैयाँ र क्यानडामा ५६ लाखको बल्छी निर्यात भएको विभागको तथ्यांक छ । रेजर भने युएईमा निर्यात गरेको हो ।

‘नेपालमा केही उत्पादन हुँदैन, यहाँ सियोसमेत विदेशबाटै ल्याउनुपर्छ’ भन्ने टिप्पणी चिया–चौतारीमा सुनिन्छ । सरकारी तथ्यांकले पनि नेपालमा वार्षिक करिब आठ करोड रुपैयाँबराबरको सियो वा यस्तै (घरायसी र व्यावसायिक दुवै प्रयोजनका) वस्तु आयात भएको देखाउँछ । तर, सियो आयात गर्ने नेपालले वार्षिक ७० करोडको कुचो र पौने चार करोडको अचार निर्यात पनि गर्छ । नेपालमा उत्पादित टाँकको माग छिमेकी भारत र चीनमा मात्र होइन, अमेरिका, जर्मनी, नेदरल्यान्ड र हङकङसम्म छ ।

स्थानीय कच्चा पदार्थ र सीपमा आधारित यस्ता वस्तु निर्यातले व्यापार घाटा न्यूनीकरणमा भरथेग मात्रै गरेको छैन, महिला, अशक्त, पिछडिएको वर्ग तथा विपन्नलाई उद्यमीसमेत बनाएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा बताउँछन् ।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०७८/७९ मा नेपालमा ६ करोड ६९ लाख कुचो र दुई करोड ९६ लाखबराबरको अचार आयात भएको छ । जब कि यही आर्थिक वर्षमा ७१ करोड ८९ लाखको कुचो र तीन करोड ८६ लाखको अचार निर्यात भएको छ । यस्ता लघु, घरेलु तथा साना उद्योगका उत्पादन जति आयात भएको छ, त्यति नै हाराहारी वा त्योभन्दा बढी निर्यात भएको विभागको तथ्यांकले देखाउँछ । स्थानीय कच्चा पदार्थ प्रयोग गरेर उत्पादन तथा निर्यात हुने यस्ता वस्तुको मूल्य परिमाण थोरै भए पनि महत्व भने धेरै देखिने कार्यकारी निर्देशक राणाको भनाइ छ ।

सियोमा परनिर्भर नेपालले माछा मार्ने बल्छी, दाह्री काट्ने रेजर, भेटेरेनरी भ्याक्सिन, टाँकलगायत वस्तु निर्यात गर्छ । त्यस्तै, छुर्पी (कुकुर र बिरालोको खाना), कपाल र त्यसबाट बनेका जुँगा, आँखीभौँ, परेला आदि, यार्सागुम्बा, डाइपर, स्यानेटरी प्याड, क्रिसमसका सामग्री, वाद्यवादन (सांगीतिक उपकरण), कन्ट्याक्ट लेन्स, मूर्ति, सस, घन्टी, चुरा र टीका, टोपी, ह्याट्स, क्यापलगायत वस्तुसमेत निर्यात भइरहेका छन् । सानो लगानीमा उत्पादन हुने यस्ता वस्तु निर्यातले एकातर्फ सम्भावित आयात वृद्धि रोक्न मद्दत गरिरहेको छ भने अर्कोतर्फ स्थानीयस्तरमा रोजगारी एवं उद्यमशीलता विकास गरिरहेका छन् ।

केही वस्तु, जो निर्यात हुन्छन्

छुर्पी (कुकुर र बिरालोको खाना)– २ अर्ब ९१ करोड १९ लाख
कुचो (अम्रिसो, बाँसलगायतको)– ७१ करोड ८९ लाख
टाँक– २९ लाख
कपाल– २ करोड १६ लाख
यार्सागुम्बा– ३० करोड ९२ लाख
डाइपर– ८ करोड ४१ लाख
स्यानेटरी प्याड– ३ करोड ५१ लाख
माछा मार्ने बल्छी– ६३ लाख
क्रिसमसका सामग्री– ३ करोड ५६ लाख
वाद्यवादन (सांगीतिक उपकरण)– ९८ करोड ५४ लाख
कन्ट्याक्ट लेन्स– ९ करोड ३७ लाख
मूर्ति– २३ करोड ८० लाख
घन्टी– ४ करोड २२ लाख
रोजर र ब्लेड– ७ करोड ५८ लाख
चुरा र टीका– २३ करोड ६४ लाख
कपालबाट बनेका जुँगा, आँखीभौँ, परेला आदि– १३ करोड ३४ लाख
टोपी, ह्याट्स र क्याप– १८ करोड २७ लाख
जुत्ता–चप्पल– १ अर्ब १३ करोड १९ लाख
फेस मास्क– १० लाख ८१ हजार
मन्जन– ८४ करोड ४६ लाख
सुगन्धित तेल (परफ्युम)– ७६ करोड ४६ लाख
भेटेरेनरी भ्याक्सिन– १८ करोड २९ लाख
पानी– ३० करोड ५३ लाख
अचार– ३ करोड ८६ लाख
सस– ६ करोड २० लाख
पानको पात– १ करोड २९ लाख
कत्था– १ अर्ब १८ करोड ९८ लाख
हातेकागज– ५२ करोड ७२ लाख

प्रतिक्रिया दिनुहोस्