समायोजित सेनाको मागप्रति सकारात्मक छु : अध्यक्ष दाहाल

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ आश्विन २०७९, आईतवार
2 Min Read
Aa

चितवन, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अवकाश प्राप्त समायोजित सेनाको मागका पक्षमा आफू सकारात्मक रहेको बताउनुभएको छ । अवकाश प्राप्त समायोजित सेनाको प्रथम राष्ट्रिय भेलालाई आज यहाँ सम्बोधन गरेपछि पत्रकारसँग कुराकानी गर्दै उहाँले अवकाश प्राप्त समायोजित सेनाको माग सम्बोधन गर्न आफू तयार रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “उहाँहरुको मुख्य माग सङ्गठनमा आबद्ध गर्ने र निर्वाचन लड्ने अवसर दिनुपर्छ भन्ने रह्यो । यसमा मैले सङ्गठनमा बस्ने मिल्छ । निर्वाचन लड्न पनि मिल्छ भनेको छु ।” पूर्वसेनाको सङ्गठनमा बसेरसमेत काम गर्नसक्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा अवकाश प्राप्त समायोजित सेनाले आफूहरुको अवस्था र अहिले देखिएको पार्टीको समस्याका बारेमा जानकारी गराएका थिए । तत्कालीन समयमा जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भई अवकाश भएकाले भेला गरेका हुन् । पार्टीको विभिन्न कार्यक्रममा सहभागी हुन गृह जिल्ला चितवन आउनुभएका दाहाल दुई दिन चितवन बस्ने कार्यक्रम रहेको छ ।

अध्यक्ष दाहालले आज माछा व्यवसायीसँगसमेत भेट गर्नुभएको छ । नेपाल मत्स्य व्यवसायी सङ्घ चितवनका अध्यक्षसहितको टोलीलाई भेट्दै उहाँले माछा व्यवसायीहरुको माग सम्बोधन गर्न राज्य लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नीति निर्माणको काम सम्पन्न भएको छ । कार्यान्वयनमा नजाँदा समस्या आएको हो ।”

माछा व्यवसायीले भन्सार छलि आएका माछाका कारण स्वदेशी माछाले बजार पाउन नसकेको गुनासो गरेका थिए । सङ्घका अध्यक्ष खगेन्द्र सुवेदीले भारतबाट आयातित अस्वस्थकर माछा नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्