भ्रष्टाचार नियन्त्रण गर्नसके मात्रै मुलुकमा समृद्धि आउँछ : प्रदेश प्रमुख शेरचन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ आश्विन २०७९, बिहीबार
2 Min Read
Aa

लुम्बिनी , लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले भ्रष्टाचार नियन्त्रण गर्नसके मात्रै मुलुकमा समृद्धि आउने बताउनुभएको छ । भ्रष्टाचारका कारण देश आर्थिक सङ्कटबाट माथि उठ्न नसकेको औँल्याउँदै उहाँले भ्रष्टाचार नियन्त्रणमा सबैको चासो र सक्रियता रहनुपर्नेमा जोड दिनुभयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको वार्षिक प्रतिवेदन ग्रहण गर्दै उहाँले भन्नुभयो, “भ्रष्टाचार खतरनाक हतियार हो, यसले धेरैलाई हत्या गरेको छ । तीन करोड जनता मारमा परेका छन् । आयोगको ध्यान यता जाओस् ।”

आयोगको दायरा धेरै भए पनि काम कम भएको टिप्पणी गर्दै उहाँले जनतालाई महसुस हुने गरी काम गर्न उहाँले सुझाव दिनुभयो । “तल्लो तहका कर्मचारीलाई मुद्दा लाग्ने तर उच्च पदमा रहेकालाई छुट दिनु राम्रो होइन, तपाईंहरूलाई कानुनले अधिकार दिएको छ, त्यो अधिकार प्रयोग गरेर अधिकारको दुरुपयोग गर्नेलाई कारबाही गर्नुस्”, उहाँले भन्नुभयो ।

जनताको दुःख र पसिनाले तिरेको रकम दुरुपयोग हुनु विडम्बना भएकाले भ्रष्टाचारीको शिर ठाडो नहुने गरी कारबाही प्रक्रिया अघि बढाउनसमेत उहाँले आग्रह गर्नुभयो । सडक निर्माणलगायत पूर्वाधार निर्माणमा भएका अनियमितताबारे छानबिन गर्नुपर्ने र कारबाही गर्नुपर्नेमा उहाँको जोड थियो ।

प्रमुख शेरचनले जनताले अरुबाट आशा गर्न छोडे पनि अख्तियारमाथि अझै भरोसा रहेकाले त्यो भरोसा रहने गरी काम गर्न सुझाव दिनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रमुख योगेन्द्रप्रसाद पाण्डेले भैष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न आयोग प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले आयोगको बुटवल कार्यालयमा आर्थिक वर्ष २०७८/७९ मा नौ सय उजुरी प्राप्त भएकामा ८४ प्रतिशत उजुरी फट्र्योट भएको जानकारी गराउनुभयो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array