दसैँभन्दा साहुको चिन्ता !

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ आश्विन २०७९, सोमबार
6 Min Read
Aa

जाजरकोट,  डोल्पा त्रिपुरासुन्दरी–३ का राजेन्द्र कामी भारतबाट घर नपुग्दै उहाँको घरमा साहु तीन पटक पुगिसकेका छन् । भारत जाँदा भाडास्वरूप सापटी लिएको पैसा असुल गर्न कामीको घरमा साहु तीन पटक पुगेका हुन् ।

नेपाली रुपैयाँ बराबरको भारतीय रुपैयाँ दिने सम्झौता गरेका कामी अझै घर नपुगेको उहाँकी श्रीमती जयसरा कामीले बताउनुभयो । उहाँले भन्नुभयो, “बारीमा फलेका स्याउ दैनिक बोकेर त्रिपुरानगरमा जान्छु, त्यहाँ दिनभरि १४ महिनाकी छोरीलाई च्यापेर बिक्री भएको पैसा जम्मा गरेर साहुलाई बुझाउने योजना छ । जाजरकोट र रुकुम पश्चिममा लाग्ने जात्रा तथा मेलामा स्याउ लिनका लागि ग्राहक आउने गर्छन्, अब तीन दिन बिक्री गरेमा साहुको पैसा तिर्ने जम्मा हुनेछ ।”

स्थानीय साहुबाट उहाँका श्रीमान् राजेन्द्रले रु चार हजार स्थानीय साहुबाट सापटी लिनुभएको थियो । दसैँँमा जयसराका श्रीमान् घरमा पुग्ने वा नपुग्ने कुनै जानकारी छैन । तर उहाँको घरमा साहु भने तीन पटक आइसके । चार छोराछोरीसहित घरमा रहेकी उहाँको श्रीमान्सँग आधा महिनाअघि मात्र फोनमा सम्पर्क भएको थियो । दसैँँमा कमाइ भएमा जसरी पनि घरमा आउँछु भन्ने सन्देश छोडेका राजेन्द्रसँग आधा महिनादेखि श्रीमतीसँग सम्पर्क भएको छैन । उता श्रीमान् आए पनि, नआए पनि नेरु रुपैयाँको भारु रुपैयाँ असुल्न साहु पटकपटक घरमा आउँदा रिन कसरी तिर्ने भन्दै हैरान भएको जयसराको भनाइ छ ।

स्याउ बिक्री गरेको पैसाले दसैँमा नयाँ कपडासहित केही आवश्यक सामग्री खरिद गर्नेभन्दा पनि साहुको रिनले सताउँदा दसैँ आउनु र नआउनुमा आफूलाई केही फरक नभएको उहाँले पीडा पोख्नुभयो । “परिवार साथमा छैन, अर्कोतिर रिनले च्यापेको छ”, उहाँले भन्नुभयो ,‘ गरिबलाई चाडपर्व नआएकै राम्रो ।”

छिमेकीका छोराछोरीले रङ्गीचङ्गी कपडा लगाउँदा आफ्ना छोराछोरी खाली हुने हुन् कि भन्दै जयसराले दुखेसो गर्नुभयो । “गाउँमा विकास निर्माणका कामहरु भइरहेका छन्, तर त्यहाँ पनि पहुँचवालाकै चुरीफुरी छ”, उहाँले थप्नुभयो । दैनिक पाउने ज्यालामा समेत महिला भएकै कारण कम रकम दिने गरिएको उहाँले बताउनुभयो ।

जयसराभन्दा कम पीडा छैन, मुड्केचुला–१ का सीता बोहराको पनि । वर्षैपिच्छे जन्मिएका छ छोराछोरी पालन गर्न दैनिक हैरानी हुँदै आएको उहाँ बताउनुहुन्छ । छोराको आसमा वर्षैपिच्छे छोरी जन्मिदा अन्तिममा छोरा भएको बोहरा परिवारमा अहिले दैनिक खर्च चलाउन मुस्किल छ । सीताका श्रीमान् दत्तबहादुर भारत गएको सात महिना भयो । सबै छोरीहरु विद्यालयमा पढ्छन् ।

“अन्तिममा जन्मिएको छोरा बल्ल नौ महिनाको भयो”, सीताले भन्नुभयो । नेरु रुपैयाँ दिएर भारु रुपैयाँ लिने गाउँका साहुबाट सीताका श्रीमान्ले पाँच हजार रुपैयाँ रिन काढेर भारत जानुभएको थियो । दसैँमा फिर्ता गर्ने गरी लिएको उक्त पैसा दसैँका केही दिन बाँकी रहँदा साहुले घरमा दैनिक छिटो दिन ताकेता गरिरहेको सीताले बताउनुभयो । श्रीमान् आएपछि दिइहाल्नुहुन्छ नि ! भन्दा साहुले ‘तिम्रो पोइ (श्रीमान्) कहिले आउँछ थाहा छैन, हामीलाई अरु ठाउँमा ब्याजस्वरूप ठेकी लगाउनु छ ।”

छिटो गरिदिनु भन्दै हैरान बनाएको सीताले दुखेसो पोख्नुभयो । “दसैँ तिहार त सबैलाई आएको छ भन्दै सिताले भन्नुभयो, “रमिताका बाबासँग फोनमा कुरा भएको थियो मङ्गलबार बिहान, उहाँले यो पटक कमाइ राम्रो नभएकाले तिहारपछि आउने कुरा गर्नुभएको छ । मसँग पैसा छैन कसरी साहुलाई दिनु ।”

यी दुइ जना प्रतिनिधिमुलक पात्र भए पनि जाजरकोट, डोल्पा र रुकुम पश्चिमका अधिकांश भारत गएर कमाइ गरी (पारिश्रमिक) घरको खर्च चलाउने परिवारको समग्र पीडा हो यो । हुने खाने भन्दा पनि हुँदा खाने बीचको ठूलो खाडल पहाडी जिल्लामा व्याप्त छ । छोराका आसमा धेरै सन्तान जन्माउनेदेखि थोरै जमिन भएर आफूले उत्पादन गरेको अन्नले चार महिना पूरा खाना नपुग्ने निम्नस्तरका परिवारलाई ठूला चाडपर्वमा समस्या बनाउँदै आएको छ । दसैँ तिहारले भावनात्मकरूपमा पीडा दिने गरेको निम्न वर्गका सर्वसाधाणले बताउँदै आएका छन् ।

घरमा ठूला व्यक्तिलाई पैसाको अभाव भएकाले धनी व्यक्ति जति चाड पर्वमा खर्च गर्न नसक्ने थाहा भए पनि साना बालबालिकालाई त्यो जानकारी हुँदैन । अभिभावकलाई ठूला पर्व, मेला, जात्रामा बालबालिकाबाट समस्या पर्दै आएको जाजरकोट नलगाड नगरपालिका–११ का कालिबहादुर विकले बताउनुभयो ।

दसैँपछि आउने असोज २३ गतेको पूर्णिमाको दिनदेखि तीन जिल्लामा मेला तथा जात्रा सुरु हुन्छन् । जाजरकोटको पूर्वमा रहेको सबैभन्दा ठूलो जात्रा रामिडाँडा, रुकुम पश्चिम आठबीसकोटको राडीमा लाग्ने चौतारा मेला, अनाहमेला, दामाचौर, छिनखेत मेला, चिसापानी मेला लाग्ने गर्दछन् । जाजरकोटको नलगाड नगरपालिकाको तल्लु स्थित (साविक भगवती गाविस) डाँडामाथि मेला र अन्तिम जाजरकोट सदरमुकाममा लाग्ने रमाइली मेला गरी यस क्षेत्रमा दुइ दर्जन ठूला जात्रा, मेला लाग्ने गर्दछन् ।

यी सबै मेला, जात्रामा एकथरीको धेरै खर्च हुन्छ भने व्यापारीले यथेष्ठ लाभ उठाउने गर्दछन् । गरिब परिवारलाई यी मेला पर्वमा खर्च धान्न धौधौ हुने गरेको छ । डोल्पा र जाजरकोटका निम्न आर्थिक अवस्था भएका स्थानीयवासीहरुको सङ्ख्या ठूलो रहेको छ । बर्सेनि कमाइका लागि भारत जाने परिवारको सङ्ख्या अत्यधिक बढिरहेको पाइएको छ । आयआर्जनको गतिलो बाटो नदेखेपछि यहाँका सर्वसाधाणहरुले भारत नै आफ्नो कमाइ गर्ने उपयुक्त गन्तव्य बनाउँदै आएका छन् ।

दसैँ तिहारका लागि भन्दै घर फर्कने सर्वसाधारणको सङ्ख्या धेरै हुन्छ । आगामी मङ्सिरमा हुने चुनावभन्दा अगावै उनीहरु फेरि कमाइका लागि भारत जाने बताएका छन् । नेता, कार्यकर्ताहरु गाउँगाउँमा भोट माग्नका लागि पुगे पनि भारबाट कमाइ गरेर फर्कनेहरुले हाम्रो लागि के हुन्छ भन्दै प्रश्न गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array