उम्मेदवार नबन्ने सभामुख सापकोटाको घोषणा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ आश्विन २०७९, शनिबार
2 Min Read
Aa

काठमाडौँ, सभामुख अग्निप्रसाद सापकोटाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ ।

सिंहदरवारस्थित आफ्नै कार्यकक्षमा आयोजित पत्रकार भेटघाटमा उहाँले राजनीतिक दलभित्र उम्मेदवारको टिकटका लागि तीव्र प्रतिस्पर्धा भएका बेलामा आफूले युवा पुस्तालाई अवसर प्रदान गरी नेतृत्वमा पु¥याउन सहयोग गर्ने हेतुले यस पटक उम्मेदवारी नदिने निर्णय गरेको बताउनुभयो ।

सभामुख सापकोटाले भन्नुभयो, “आगामी निर्वाचनमा मेरो जीत सुनिश्चित नै थियो, युवालाई नेतृत्वमा ल्याउन ब्रह्मले देखेर यो त्यागको निर्णय गरेको हुँ । हार्छु भनेर नउठ्ने घोषणा गरेको होइन । देश र जनताको हितका लागि अधिकतम समर्पित रहनेछु । अन्तिम घडीसम्म राजनीतिमै सक्रिय रहनेछु ।”

निरन्तर १५ वर्षसम्म जनप्रतिनिधिको भूमिकामा पु¥याउने मतदाता र जनताप्रति आभार व्यक्त गर्दै उहाँले आगामी दिनमा पनि जनताको समस्या र मुलुकको विकासका लागि सक्रियताका साथ काम गर्ने विश्वास दिलाउनुभयो । सभामुख सापकोटाले भन्नुभयो, “मेरो यो निर्णय निरन्तरतामा क्रम भङ्गता हो, आशा छ मेरो यो कदमले राजनीतिक रुपान्तरणका लागि नयाँ रक्त सञ्चार गर्नेछ ।”

सिन्धुपाल्चोकबाट २०६४, २०७० र २०७४ सालमा लगातार संसद् सदस्यमा निर्वाचित सभामुख सापकोटासँग यसअघि सूचना तथा सञ्चार र वन तथा भू– संरक्षणमन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव छ । विसं २०७६ माघ १२ गते उहाँ सर्वसम्मतरुपमा सभामुखमा निर्वाचित हुनुभएको थियो ।

संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा निरन्तर क्रियाशील भइरहने उल्लेख गर्दै सो अवसरमा उहाँले अग्रगामी राजनीतिक अभियानमार्फत आम नेपाली नागरिकको समुन्नतिका लागि बुद्धि र विवेकले भ्याएसम्म काम गर्ने अठोट व्यक्त गर्नुभयो ।

सभामुख सापकोटाले भन्नुभयो, “राज्य र जनताले आवश्यक ठानेमा जुनसुकै जिम्मेवारी बहन गर्न तयार छु । राजनीतिक एवं सामाजिक मञ्चमार्फत सबै नेपालीको स्वाभिमान र आत्मविश्वास उचो बनाउन मेरो सक्रियतामा कुनै कमी आउन दिने छैन । मानव जातिको उन्नतिका लागि परिश्रम गर्नु मेरो जीवनको आदर्श हो ।”

प्रतिक्रिया दिनुहोस्

Array