प्रधानमन्त्री देउवा सातौँ पटक उमेदवारी दिँदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ आश्विन २०७९, आईतवार
3 Min Read
Aa

काठमाडौँ, प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज डडेल्धुराबाट उमदवारी दर्ता गराउँदै हुनुहुन्छ ।

उहाँले प्रतिनिधिसभा सदस्यका लागि आज सातौँ पटक उम्मेदवारी दर्ता गराउन लाग्नुभएको हो ।

प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि प्रधानमन्त्री तथा कांगे्रसका सभापति देउवाले यसअघि जस्तै यसपटक पनि डडेल्धुराबाट नै उम्मेदबारी दिँदै हुनुहुन्छ । प्रधानमन्त्री देउवाको तर्फबाट उहाँकी धर्मपत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले आज अपराह्न २ बजे मनोनयन दर्ता गराउनुहुने नेपाली कांगे्रस डडेल्धुराले जनाएको छ । उम्मेदवारी दर्ताका लागि वारिसनामासहित प्रधानमन्त्री पत्नी डा राणा शनिबार बेलुका नै डडेल्धुरा आइपुग्नुभएको छ ।

प्र्रधानमन्त्री देउवा डडेल्धुराबाट विसं २०४८ मा पहिलो पटक प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । उहाँ त्यस यताका सबै आमनिर्वाचनहरुमा निर्वाचित हुँदै आउनुभएको छ ।

उहाँले प्रतिनिधिसभाका लागि भएको पछिल्लो २०७४ सालकोे निर्वाचनमा डडेल्धुराबाट नै छैटौँ पटक निर्वाचित हुनुभएको थियो । विसं २०४८ यताका सबै निर्वाचनमा विजयी हुनुभएका देउवा आसन्न निर्वाचनमा पनि डडेल्धुराका जनताको साथ, समर्थन र मायाले आफ्नो इतिहासलाई कायम राख्दै निरन्तरता दिनुहुने प्रधानमन्त्री पत्नी डा आरजु राणा देउवाले बताउनुभयो ।

उहाँले भूगोलमा मात्र नभएर विकासमा नै पछि परेको सिङ्गो सुदूरपश्चिम क्षेत्रको सामाजिक, आर्थिकलगायत समग्र उन्नयनमा नेपाली कांग्रेसको एक प्रतिनिधिका रुपमा शेरबहादुर देउवाले आफ्नो राजनीतिक जीवनमा पु¥याउनुभएको उल्लेखनीय योगदानको स्मरण गरी उहाँलाई आगामी निर्वाचनमा पनि यहाँका नागरिकले पहिले जस्तै न्याय गर्नेमा आफू ढुक्क रहेको धारणा राख्नुभयो ।

यसअघि विसं २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा डडेलधुराबाट विजयी देउवा विसं २०६४ मा कञ्चनपुर– ४ र २०७० मा कैलाली– ६ बाट पनि विजयी हुनुभएको थियो ।

उहाँ विसं २०४८ मा सांसद बनेपछि गृहमन्त्री हुनुभएको थियो । सिं २०५१ को मध्यावधि निर्वाचनपछि बनेको मनमोहन अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेपछि २०५२ सालमा देउवाको नेतृत्वमा नै सरकार गठन भएको थियो ।

त्यसपछि २०५९, २०६१, २०७४, २०७८ मा गरी उहाँ पाँच पटक प्रधानमन्त्री हुनुभएको छ । आगामी मङ्सिर ४ गतेको निर्वाचनमा भने देउवालाई हालको सत्ता साझेदार गठबन्धनको पनि समर्थन रहेको छ । देउवासँगै तीन पटक प्रतिस्पर्धा गरेका नेकपा माओवादीका खगराज भट्ट अहिले प्रदेशसभाका लागि गठबन्धनबाटै चुनाव लड्दै हुनुहन्छ ।

डडेल्धुरा जिल्ला जहिले पनि प्रजातन्त्रका पक्षमा उभिएकाले प्रतिनिधिसभा र प्रदेशसभा गरी तीनवटै क्षेत्रमा अहिले पनि गठबन्दनका नेताले जित हासिल गर्ने कांग्रेसका जिल्ला सभापति भीमबहादुर साउँदले बताउनुभयोे ।

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुरामात्र नभएर सिङ्गो सुदूरपश्चिमको विकासमा आफ्नो जीवनकाल खर्चिनुभएकाले उहाँले उम्मेदवारी दिएपछि यहाँका नागरिकमा अर्काे कुनै विकल्प नहुने धारणा राख्नुभयो । नेपाली कांग्रेसलगायत सत्ता गठबन्धन दलले उम्मेदवारी दर्ताको समय आज २ बजेका लागि तय गरिएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array