चितवनका दुई सय तीस जनामा स्क्रब टाईफस

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ आश्विन २०७९, सोमबार
2 Min Read
Aa

चितवन, जिल्लाको विभिन्न अस्पतालमा उपचार गर्न आएका बिरामीमध्ये दुई सय ३० जनामा स्क्रबटाईफस रोगको सङ्क्रमण देखिएको छ । एक हजार आठ सय ७३ जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो ।

स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार सङ्क्रमितमध्ये एक सय आठजना चितवनका रहेका छन् । यस जिल्लामा भरतपुर महानगरपालिकामा सबैभन्दा बढी ५५ जना सङ्क्रमित भेटिएको केसीले जानकारी दिनुभयो । अन्य जिल्ला बाहिरका रहेका छन् ।

गत आर्थिक वर्षमा तीन हजार दुई सय ८६ जनाको परीक्षणका क्रममा दुई सय ८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको कार्यालयले जनाएको छ । स्क्रफ टाइफस रोग मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । स्क्रफ टाइफसमा मानिसलाई उच्च ज्वरो आउनु, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाई र पखालाले सताउनु, स्वास फेर्न समस्या हुनु धेरै टाउको दुख्नु जोर्नी र मांसपेशी दुख्नु, बिबिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्ष्यण देखिने गर्दछ ।

यस रोगबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएको कपडा र उपयुक्त जुत्ता लगाउने र शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस धेरै बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमको अन्न भण्डारण गर्नुपर्ने केसीले बताउनुभयो ।

यस्तै जिल्लाको विभिन्न अस्पतालमा उपचारका क्रममा आएका बिरामीमध्ये एक हजर एक सय ५५ जनामा डेँङगु रोगको सङ्क्रमण देखिएको छ । जसमध्ये सात सय ९९ जना चितवनका रहेका छन् । एक सय ७७ जनाको ठेगाना पहिचान नभएको र दुई सय ९९ जना जिल्ला बाहिरका रहेका छन् । डेँगुका कारण चितवनमा दुई जनाको मृत्यु भएको छ । साउन यता ५ हजार ६५५ जनाको परीक्षणका क्रममा उनीहरुमा डेँङगु देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array