बैंकिङ कसुरका दोषी र लागुऔषध मुद्दाका आरोपी पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २७ आश्विन २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ, असोज २७ । बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका र लागुऔषध मुद्दाका आरोपी दुई जनालाई हिजो फरकफरक स्थानबाट प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–११ गोंगबु बस्ने ३४ वर्षीय रोशन भण्डारीलाई हिजो प्रहरीले यहाँस्थित भण्डारी टोलबाट पक्राउ गरेको छ ।

उनी उच्च अदालत पाटनको गत असार १३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा चार दिन कैद र रु पाँच लाख ५० हजार जरिवाना तथा २२ हजार क्षतिपूर्ति भराउने आदेश भई फरार रहेका थिए । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरी आजै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुर पठाएको प्रहरीले जनाएको छ ।

यस्तै काठमाडौँ, चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट अवैध लागुऔषध हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम पाँच मिलिग्रामसहित कीर्तिपुर नगरपालिका–५ घर भएका ३१ वर्षीय इज्जित नापितलाई हिजो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले चितवनबाट काठमाडौँ आउँदै गरेको ना ४५ प ९४५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार नापितले चुरोटको बट्टाभित्र लुकाइ ल्याएको उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । नापितले नागढुङ्गाको सुरक्षा चौकी छल्नका लागि चन्द्रागिरि नगरपालिका–२ चिसापानी नजिकबाट उक्त मोटरसाइकलमा लिफ्ट मागी सवार रहेको खुल्न आएको छ

प्रतिक्रिया दिनुहोस्