आइटिएफ तेक्वान्दोमा आर्मीको अग्रता

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० आश्विन २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ, नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बागलुङमा जारी आइटिएफ तेक्वान्दोको पछिल्लो खेलमा विभागीय टिम नेपाल आर्मीले तीन र बागमती प्रदेशले एक स्वर्ण पदक जितेको छ ।

महिलातर्फ ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा आर्मीकी रिना धिमालले स्वर्ण र गण्डकी प्रदेशकी सुश्मिता थापाले रजत पदक हात पारेकी हुन् । ‘ब्ल्याक बेल्ट’ तेस्रो डानमा बागमतीकी रुबिना खड्काले स्वर्ण र आर्मीकी निष्मा बस्यालले रजत पदक जितेकी छन् ।

पुरुष ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा आर्मीका पूर्णबहादुर मगरले स्वर्ण र गण्डकी प्रदेशका राजन रेग्मीले रजत पदक हाँसिल गरेको नेपाल आइटिएफका महासचिव अञ्जु रावतले जानकारी दिइन् ।

यस्तै ‘ब्ल्याक बेल्ट’ तेस्रो डानमा पुरुषतर्फ नेपाल आर्मीका सुमन मगरले स्वर्ण र लुम्बिनी प्रदेशका वीरेन्द्र बुढा मगरले रजत पदक जितेका छन् । यसअघि आजै बिहान भएको खेलमा बागमती र आर्मीले एक–एक स्वर्ण पदक जितेका थिए ।

उक्त खेलमा ‘ब्ल्याक बेल्ट’तर्फ बाग्मती प्रदेशका सचिना सुनुवारले स्वर्ण र नेपाल आर्मीका हिमाल खड्काले रजत पदक हासिल गरेकी हुन् । ‘रेड बेल्ट’ तर्फ नेपाल आर्मीका निकिता धिमालले स्वर्ण र शसस्त्र प्रहरी बलका अप्सना तामाङले रजत पदक हात पारेकी हुन् ।

प्रतियोगिताको पहिलो चरणमा एकल प्याट्रनमा प्रतिस्पर्धा भइरहेको छ । स्पाइरिङतर्फ प्रतिस्पर्धा गराउन तयारी भइरहेको आयोजकले जनाएको छ । शनिबारदेखि बागलुङमा सुरु भएको आइटिएफमा एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनका खेल हुनेछन् ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी सहभागी छन् । आइटिएफ तेक्वान्दोमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array