गठबन्धनको मूल उद्देश्य संविधानको रक्षा र समृद्धि हासिल गर्नु हो : कांग्रेस

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ कार्तिक २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौँ, नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले सत्ता गठबन्धनको मूल लक्ष्य संविधानको रक्षा र समृद्धि हासिल गर्नुरहेको बताउनुभएको छ ।

कांग्रेस केन्द्रीय कार्यालयद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले वर्तमान गठबन्धनको सरकार गठन भएपछि संविधान कार्यान्वयन र लोकतन्त्रको रक्षा गर्ने काम भएको बताउनुभयो । पाँच दलीय गठनबन्धन बनेको परिस्थितिको बारेमा जानकारी गराउँदै उहाँले सरकारले छोटो अवधिमा देशलाई कानूनी शासनमा अघि बढाउन र जनजीविकाका सवालमा पनि महत्त्वपूर्ण काम गर्न सफल भएको बताउनुभयो ।

सरकारले छोटो समयमा चुनौतीपूर्ण अवस्थामा पनि कांग्रेसको नेतृत्वमा धेरै काम गरेको उल्लेख गर्दै सरकारले स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको उहाँले बताउनुभयो । यसैगरी उहाँले सरकार हाल स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको उल्लेख गर्नुभयो ।

निर्वाचनमा पार्टी पूर्णरूपमा परिचालन गरिएको जानकारी गराउँदै प्रवक्ता डा महतले पाँच दलीय गठबन्धनको भावनाअनुसार सिटको बाँडफाँट गरी निर्वाचनमा होमिएको उल्लेख गर्नुभयो । कांग्रेसले उदारताका साथ निर्वाचनमा भाग लिएको अवगत गराउँदै उहाँले आगामी आमनिर्वाचनमा प्रतिनिधिसभामा कांग्रेस नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले सहमति गरी सिट बाँडफाँट गरेको जानकारी दिनुभयो ।

कांग्रेस ठूलो र ऐतिहासिक पार्टी भएको तथा धेरै सक्षम नेता कार्यकर्ता रहेको भए पनि गठबन्धन दलसँग चुनावी तालमेल गरेका कारण धेरै नेता कार्यकर्तालाई उम्मेदवार बनाउन नसकिएको उहाँको भनाइ थियो । प्रवक्ता डा महतले व्यक्तिगत आकाङ्क्षालाई पन्छाएर परिणाम प्राप्तिका लागि सबै अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो । आचारसंहिता पालना गरी पार्टी प्रचारप्रसारमा जुटेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्