काभ्रेमा तिहारअघि ‘घरदैलो’ सक्ने उम्मेदवारको योजना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ कार्तिक २०७९, बिहीबार
4 Min Read
Aa

काभ्रेपलाञ्चोक, प्रतिनिधिसभा क्षेत्र नं २ का उम्मेदवार शिवप्रसाद हुमागारइंले आफ्नो ‘घरदैलो’ अभियान आज भुम्लु गाउँपालिकाको दोलालघाट बजारबाट सुरु गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्रका केही अगुवा नेता कार्यकर्तासहित दोलालघाट पुग्नुभएका हुमागार्इंले स्थानीयवासीसँग भेटघाटसँगै भएगरेका विकासका काम तथा अवको आवश्यकताकाबारे चासो दिइरहनुभएको छ ।

नेपाली कांग्रेसका पूर्व सांसदसमेत रहनुभएका हुमागार्इंले घरदैलो कार्यक्रममा अधुरा काम आफूले पूरा गर्ने बताउँदै आउनुभएको छ । निर्वाचन आयोगका अनुसार यही कात्तिक १७ गतेसम्म २५ जनाको सङ्ख्यामा उम्मेदवारले घरदैलो गर्न पाउने छन् । आयोगको आचासंहिता अनुसार आफू घरदैलोमा केन्द्रीत रहेको हुमागार्इंले बताउनुभयो ।

“अहिले केही साथीसहित घरदैलोमा व्यस्त भएको छु, तिहारअघि आफ्नो क्षेत्रमा घरदैलो सक्ने योजना छ, त्यसपछि आयोगका अनुसार कात्तिक १८ गतेदेखि चुनावीसभामा केन्द्रीत हुनेछौँ”, हुमागाईंले भन्नुभयो । उहाँ हाल तालिका बनाएर गाउँगाउँ जाने गर्नुहुन्छ ।

यस्तै यस क्षेत्रअन्तर्गतका दुई प्रदेशमा गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका प्रदेशसभा क्षेत्र ‘क’मा नेकपा (एकीकृत समाजवादी)का लक्ष्मण लम्साल र प्रदेशसभा क्षेत्र ‘ख’मा कांगे्रसका कञ्चनचन्द्र वादेपनि घरदैलोमै ब्यस्त हुनुहुन्छ ।

“मेरो क्षेत्रका स्थानीय गठबन्धनका उम्मेदवारप्रति निकै उत्साही देखिएकाले गाउँमै बसेर टोलटोलमा भेटघाट भइरहेको छ”, लम्सालले भन्नुभयो । हुमागाईसँग भने नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाको प्रतिस्पर्धा हुनेछ । बाँस्कोटा पनि आफ्नो निर्वाचन क्षेत्र केन्द्रीत हुनुहुन्छ । यस प्रतिनिधिसभा क्षेत्रअन्तर्गत प्रदेशसभा ‘क’ र ‘ख’ मा गठबन्धनसँग मुख्य प्रतिस्पर्धी एमालेका कुमार खकुरेल र कुमार थापा हुनुहुन्छ । खकुरेल र थापा पनि हाल घरदैलोमै ब्यस्त देखिनुहुन्छ ।

यस्तै प्रतिनिधिसभा क्षेत्र नं १ मा गठबन्धनका उम्मेदवार सूर्यमान दोङ हालै मात्रै निर्वाचन क्षेत्र केन्द्रीत हुनुभएको छ । नेकपा (माओवादी केन्द्र)का दोङ केही समय स्वास्थ्योपचारपछि केही दिनदेखि स्थानीयवासीसँग भेटघाटमा व्यस्त हुनुभएको हो । “दुई दिन भयो गाउँ आएको, अब स्थानीयवासीसँगको भेटघाटलाई तीव्रता दिन्छु”, दोङले भन्नुभयो ।

यस क्षेत्रअन्तर्गतको प्रदेशसभा ‘क’ र ‘ख’ मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका रत्न ढकाल र कांग्रेसका तीर्थ लामा हुनुहुन्छ । उहाँहरुसँग मुख्य प्रतिस्पर्धी एमालेका दिलीप लामा र चन्द्र लामा हुनुहुन्छ ।

यहाँका गठबन्धन दल, प्रमुख प्रतिपक्षी तथा अन्य साना दल र स्वतन्त्र सबै उम्मेदवार घरदैलोमै व्यस्त भएको देखिन्छ । काभ्रेपलाञ्चोकमा छ पदका लागि ६४ ले उम्मेदवारी दर्ता गराएका छन् । यसमध्ये दुई महिला र एक दलित उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रनुभएको हो । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा ५६ वर्षीया रुकमणि श्रेष्ठले स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता गराउनुभएको छभने प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा ‘ख’ निर्वाचन क्षेत्रमा मुना तामाङले नेपाल मजदूर किसान पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा ३२ वर्षीय पूर्णबहादुर विश्वकर्माले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराउनुभएको छ । काभ्रेपलाञ्चोकमा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्र छन् । आउँदो मङ्सिर ४ गते हुने निर्वाचनमा उम्मेदवारी दर्ता भएकामध्ये चार प्रदेशसभा सदस्यभन्दा दुई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या बढी छ ।

जिल्लामा हालै दर्ता नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा क्षेत्र नं १ मा बसुनारायण श्रेष्ठ र २ मा दिनेश हुमागार्इंले उम्मेदवारी दिनुभएको छ । केही साना दलका नेताले भने स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता गर्नुभएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार हाल काभ्रेपलाञ्चोकमा ३१ दल क्रियाशील छन् । जिल्लाका एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला र अन्य दुई मतदाता गरी कूल तीन लाख १० हजार ६३ मतदाताले मतदान गर्ने छन् । एक सय ९० वटा मतदानस्थलका तीन सय ८९ मतदान केन्द्र तोकिएको छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array