पाँचबुँदे तेहरान घोषणापत्र जारी गर्दै ओएएनएको १८औँ महासभा सम्पन्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ कार्तिक २०७९, बुधबार
2 Min Read
Aa

इरान, इरानको राजधानी तेहरानमा जारी एसिया–प्रशान्त क्षेत्रका समाचार समितिहरूको सङ्गठन(ओएएनए)को १८औँ महासभा पाँचबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । महासभाले आज पारित गरेको घोषणापत्रमा गलत समाचार विरुद्ध मुकाबिला गर्न ओएएनएमा आवद्ध मुलुकहरूका समाचार समितिबीचको सहकार्यलाई प्रवद्र्धन गर्ने उल्लेख छ । समाचार समितिबाट उत्पादन हुने समाचार तथा रिपोर्टको विश्वसनीयता बढाउने घोषणापत्रमा जनाइएको छ ।

पाठक, दर्शक र स्रोताको सत्य सूचना पाउने अधिकारप्रति प्रतिबद्धता जनाउँदै ओएएनएमा आवद्ध मुलुकहरूले रिपोर्टमा पेशागत कर्तव्यलाई प्रभावित हुने गरी राजनीतिक विचार प्रवाह नगर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । त्यसैगरी समाचार समितिका जारी गतिविधिलाई अगाडि बढाउन ओएएनएमा आवद्ध मुलुकहरू मिलेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ । समाचार समितिबीचको सहकार्यमा आउन सक्ने अप्ठ्यारालाई न्यूनीकरण गर्न सदस्य मुलुकले सहकार्य गर्ने उल्लेख गरिएको छ ।

अन्तर्राष्ट्रिय मापदण्डलाई स्वीकार्दै विश्वका स्वतन्त्र देशका राष्ट्रिय सार्वभौमिकता तथा भौगोलिक अखण्डतामा चुनौती सिर्जना गर्ने अवस्थाको अपेक्षा नगरिएको घोषणापत्रमा उल्लेख गरिएको छ । त्यसैगरी ओएएनए सदस्य मुलुकका संस्थाबाट भएका निर्णय कार्यान्वयन तथा लक्ष्य प्राप्तिको पुनःप्रतिबद्धता व्यक्त गरिनुका साथै त्यसका लागि व्यक्ति एवं भर्चुअल माध्यमबाट सम्पर्कमा रहने उल्लेख गरिएको छ ।

घोषणापत्रमा कोभिड–१९ले समाचार सङ्कलनमा सिमीतता ल्याएको उल्लेख गर्दै सञ्चार माध्यमले पाठक, दर्शक र स्रोताको आवश्यकता परिपूर्ति गर्न समाचार संकलनमा नयाँ प्रविधि र रणनीति अपनाएको उल्लेख गरिएको छ । त्यसैगरी ओएएनए सदस्य मुलुकहरुबीच नयाँ अवस्था र विकासका अनुभव आदानप्रदानलाई निरन्तर जारी राख्ने प्रतिवद्धतासमेत व्यक्त गरिएको छ ।

महासभाले ओएएनएको अध्यक्षमा इरानको स्लामिक रिपब्लिक न्युज एजेन्सी(इराना)का प्रबन्ध निर्देशक डा अली कादरीलाई चयन गरेको छ । महासभामा नेपालका तर्फबाट राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले सहभागिता जनाउनुभएको छ । यही अक्टोबर २३ देखि २६ सम्म चल्ने महासभामा एसिया–प्रशान्त क्षेत्रका ३५ सदस्य मुलुकका समाचार समितिका निर्देशक, व्यवस्थापक एवं सम्पादक गरी ६० जनाको सहभागिता छ ।

महासभामा ‘सञ्चार माध्यममा महामारीले ल्याएको परिवर्तन’ र ‘महामारीपछि सञ्चार माध्यममा सहकार्यको प्रवद्र्धन’ विषयमा छलफल भएको थियो । महासभाको उद्घाटन कार्यक्रममा इरानको संस्कृति मन्त्री महम्मद मेहदी स्माइलीले एसिया–प्रशान्त क्षेत्रको पत्रकारिताको प्रवद्र्धनमा जोड दिँदै समाचार एजेन्सीहरूबीच सहयोग र सहकार्यको आवश्यकता औंल्याउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array