उपल्लो डोल्पामा पाँच वर्षदेखि आयोडिन नुन पुगेन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ कार्तिक २०७९, बुधबार
3 Min Read
Aa

जाजरकोट, प्रत्येक वर्ष उपल्लो डोल्पामा खाद्यान्न र आयोडिनयुक्त नुन पु¥याउने भन्दै सरकारले कोटा निर्धारण गर्छ । तर डोल्पामा विगत पाँच वर्षदेखि आयोडिनयुक्त नुन पुग्न सकेको छैन भने एक वर्षदेखि चामल पुग्न सकेको छैन ।

सरकारी कोटा प्रणाली तोकिए पनि उपल्लो डोल्पाका नागरिकले खाद्यान्न र आयोडिनयुक्त नुन नपाउने अवस्थाका कारण स्थानीयबासी मर्कामा पर्दै आएका छन् ।

उपल्लो डोल्पा भौगोलिक हिसाबले निकै विकट क्षेत्र हो । सदरमुकाम दुनैबाट ७ दिनको पैदल दूरीमा पुगिने उपल्लो डोल्पामा जनसंख्या कम भए पनि भूगोल भने ठूलो छ ।

तीनवटा गाउँपालिका रहेको यस उच्च हिमाले क्षेत्रमा वर्षमा एउटा मात्रै बाली उत्पादन हुन्छ । त्यसैले तीन वटै खाद्यान्न पु¥याउने जिम्मा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पाएको छ । कम्पनीले यस क्षेत्रमा खाद्यान्न बिक्री केन्द्र समेत राखेको छ ।

मोटर गाडीको पहुँच नभएकाले यी क्षेत्रमा घोडा, खच्चड र चौँरीको सहायताले आवश्यक सामग्री ढुवानी गरिने शे–फोक्सुण्डो गाउँपालिकाकी प्रेम गुरुङले बताउनुभयो । “यो वर्ष हिमपात सुरु भइसकेको छ, केही समयभित्र नाकाहरु पनि बन्द हुन्छन्,” उहाँले भन्नुभयो, “वर्ष दिनदेखि ठेकेदारहरुले चामल नल्याएका कारण डिपोमा एक दाना चामल पनि छैन ।”

यस क्षेत्रमा चिनियाँ भू-भाग हुँदै अनुदानमा प्राप्त हुने आयोडिनयुक्त नुन समेत पाँच वर्षदेखि आउन नसकेको साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड डोल्पाका प्रमुख प्रकाश धामीले बताउनुभयो ।

यो वर्ष पनि सदरमुकाम बाहिरका बिक्री केन्द्रमा हवाइमार्गमार्फत् आयोडिनयुक्त नुन ढुवानीका लागि भदौ ५ गते बोलपत्र आह्वान गरिए पनि अहिलेसम्म नुन पुग्न सकेको छैन । नेपालगञ्जबाट काइगाउँ बिक्री केन्द्रमा २०० क्विन्टल, सर्मी बिक्री केन्द्रमा २०० क्विन्टल र लिकु बिक्री केन्द्रमा २०० क्विन्टल नुन ढुवानी गर्ने भनि कोटा निर्धारण गरिएको थियो ।

पाँच वर्षअघि तिब्बत हुँदै ढुवानी गरिएको नुन अनुगमनका क्रममा तेन्जे नाकामा जथाभावी फालिएको अवस्थामा फेला परेको थियो । नुन र खाद्यान्न ढुवानीका लागि कुनै पनि चासो नलिएको भन्दै जनप्रतिनिधि र सरकारी निकायप्रति उपल्लो डोल्पाबासी सवर्बसाधारणले गुनासो गरिरहेको डोल्पोबुद्ध गाउँपालिका– ३ का पुटी गुरुङको भनाइ छ । “समय हुँदासम्म ढुवानी हुँदैन, पछि हिमपातले बाटो अवरुद्ध भएपछि बाटो बन्द भयो भन्दै खाद्यान्न ढुवानी गरिदैन । यो समस्या जहिले पनि रहन्छ”, उहाँले भन्नुभयो ।

सरकारले सहुलियतमा उपलब्ध गराउने नुन र चामल आपूर्ति नहुँदा नागरिकहरुले सदुरमुकाम दुनै बजारबाट महंगोमा खरिद गर्न बाध्य भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array