चितवनमा डेङ्गु सङ्क्रमित दुई हजार नाघे

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ कार्तिक २०७९, शुक्रबार
1 Min Read
Aa

चितवन, चितवनमा डेङ्गु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ । सो अवधिमा आठ हजार आठ सय ५३ जनामा डेङ्गु परीक्षण गर्दा दुई हजार एक सय ६४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी राम केसीका अनुसार उनीहरूमध्ये एक हजार चार सय ५१ चितवनका छन् । जसमा आठ सय २२ पुरुष र छ सय २९ महिला छन् । चार सय ५४ सङ्क्रमित अन्य जिल्लाका हुन् भने दुई सय ५९ जनाको ठेगाना नखुलेको कार्यालयले जनाएको छ । चितवनमा यो अवधिमा डेङ्गु सङ्क्रमणबाट तीन जनाको ज्यान गएको छ ।

चितवनका सात पालिकामध्ये सबैभन्दा धेरै डेङ्गु सङ्क्रमित भरतपुर महानगरपालिकाका रहेका छन् । भरतपुरमा हालसम्म पाँच सय ५९ पुरुष र चार सय १९ महिला गरी नौ सय ७८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भइसकेको छ ।

यस्तै खैरहनी नगरपालिकामा एक सय २४, माडीमा २८, रत्ननगरमा एक सय ९७, राप्तीमा ७९ र कालिकामा ३७ जनामा डेङ्गु देखिएको केसीले बताउनुभयो । इच्छाकामना गाउँपालिकामा हालसम्म आठ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । अझै केही समय डेङ्गु सङ्क्रमण हुनसक्ने भन्दै कार्यालयले सचेत बन्न सबैलाई आह्वान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्