निर्वाचनलाई निष्पक्ष बनाउन निर्वाचन आचारसंहिता सबैले पालना गरौँ : आयुक्त डा तुलाधर

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ कार्तिक २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ,  निर्वाचन आयुक्त डा जानकी तुलाधरले निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गर्नुभएको छ । आचारसंहिता उल्लघङ्न गर्ने उमेदवारको उम्मेदवारीसमेत खारेजी हुनसक्ने भन्दै उहाँले आयोगले जारी गरेको आचारसंहिता पालना गर्न सबै राजनीतिक दल र उम्मेदवारलाई आग्रह गर्नुभयो ।

राष्ट्रिय समाचार समितिको सहकार्यमा निर्वाचन आयोगले आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रममा आयुक्त डा तुलाधरले आगामी मङ्सिर ४ गते हुने निर्वाचन दुईवटा कुरामा केन्द्रीत रहेको बताउनुभयो ।

डा तुलाधारले भन्नुभयो, “पहिलो त निर्वाचनलाई निष्पक्ष बनाउन निर्वाचन आचारसंहिता पालना गराउनु हो, अर्को मतदाता शिक्षालाई जोड दिएका छौँ ।” सञ्चार माध्यमले गत स्थानीय तहको निर्वाचनमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उहाँले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि त्यतिकै भूमिकाको अपेक्षा गरिएको बताउनुभयो ।

“सञ्चारमाध्यम भनेको महत्वपूर्ण कडी हो”, उहाँले भन्नुभयो, “मतदाता शिक्षामा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ, निष्पक्ष निर्वाचन बनाउन आयोग र सञ्चारमाध्यमको सहकार्य पनि उत्तिकै आवश्यक छ ।” आयोगले अहिले मतदाता शिक्षालाई जोड दिएको भन्दै आयुक्त तुलाधरले मतदाता शिक्षा र आचारसंहिता पालनामा सबै सरोकारवालाको दायित्वभित्र पर्ने बताउनुभयो ।

मिथ्या सूचनालाई निस्तेज पार्न मिडियाको साथ आयोगलाई चाहिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

Array