जघन्य अपराधका घटनामा मेलमिलाप गर्नुहुँदैन : नगरप्रमुख शाह

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ कार्तिक २०७९, बिहीबार
1 Min Read
Aa

काठमाडौँ, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जघन्य अपराधका घटनामा मेलमिलाप गर्न नहुने बताउनुभएको छ ।

काठमाडौँ महानगरपालिकाले हिजो यहाँ आयोजना गरेको ‘वडा महिला सञ्जाल गठन र सञ्चालनसम्बन्धी छलफल’मा बोल्दै उहाँले जघन्य अपराधका घटनालाई मेलमिलाप गरेर टुङ्गो लगाउन नहुने बताउनुभएको हो । “जघन्य अपराधका घटनालाई अदालतमा गएर न्याय निरुपण गराउन भ्रष्ट आचरण भएकाले बाधा अवरोध पु¥याउने भएकाले त्यसतर्फ सचेत हुनुपर्छ”, उहाँले भन्नुभयो ।

नगरप्रमुख शाहले इमान्दार भएर काम गर्न मातहतका निकायलाई निर्देशनसमेत दिनुभयो । कुनै पनि कामलाई सफल बनाउन स्वच्छ र इमान्दार हुनुपर्ने उहाँको भनाइ छ । नगरप्रमुख शाहले स्थानीय सरकारलाई बलियो बनाउन सकेमात्रै महिला हिंसालगायतका जघन्य अपराधका घटनालाई निस्तेज पार्न सकिने बताउनुभयो ।

महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले महानगरपालिकाले सबै वडामा महिला सञ्जाल गठन गर्न लागेको जानकारी दिनुभयो । महानगरपालिकाको न्यायिक समितिका संयोजकसमेत रहनुभएकी उपप्रमुख डङ्गोलले महिला सञ्जालमा काम गर्दा पुरुषमाथि कुनै पनि किसिमको विभेद नहुने बताउनुभयो ।

“महिला सञ्जाल वडावडामा गठन गर्नुपर्छ भन्ने अभियान अगाडि बढाएका छौँ, न्यायिक समिति र महिला सञ्जालको मुख्य उद्देश्य भनेको मेलमिलाप नै हो”, उहाँले भन्नुभयो । काठमाडौँ महानगरपालिकाले यसअघि नै समाजमा हुने द्वन्द्व व्यवस्थापनका लागि भन्दै सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्