अमेरिका र स्वीट्जरल्याण्ड उडान सम्झौता गर्न सरकारद्वारा सैद्धान्तिक स्वीकृति

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ कार्तिक २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौँ, नेपाल सरकारले अमेरिका र स्वीट्जरल्याण्ड दुईतर्फी हवाई उडान सम्झौता गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । करिब तीन महिना अगाडि अमेरिका र स्वीट्जरल्यान्डबीच दुईपक्षीय सीधा उडान प्रक्रिया सुरु गर्ने प्रारम्भिक सम्झौता भएपछि सरकारले थप प्रक्रिया अघि बढाउन स्वीकृति दिएको हो ।

यसका लागि अमेरिकाको फेडरल एभिएसन एडमिनिस्ट्रेसनले दुईतर्फी उडान सम्झौताका लागि प्रारम्भिक पत्राचार गरेको बताइएको छ । मन्त्रिपरिषद्बाट स्वीकृति पाएसँगै यी दुई देशसँगको हवाई उडान सम्झौता प्रक्रिया सुरु गर्ने तयारी भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार अमेरिका र स्वीट्जरल्याण्डले दुईतर्फी सीधा उडान गर्न चासो देखाएसँगै पर्यटन मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणसँगको समन्वयमा आवश्यक प्रक्रिया थाल्दै मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो ।

यसअघि नेपाल वायुसेवा निगमले बोइङ दोहा ट्रान्जिट हुँदै नेपाल–स्वीट्जरल्याण्ड उडान गरेको थियो । यसैगरी सरकारले इन्डोनेसिया र रुवान्डासँगको प्रक्रिया पनि अगाडि बढाएको बताइएको छ । अफ्रिकी मुलुक रुवान्डाले परराष्ट्र मन्त्रालयमार्फत दुईपक्षीय उडान सम्झौताका लागि प्रस्ताव पेस गरेको प्राधिकरणले जनाएको छ । विश्व उड्डयन सुरक्षा मापदण्डअनुसार ७० प्रतिशतभन्दा बढी कायम भइसकेका कारण यी मुलुकतर्फ दुईतर्फी उडानका लागि कुनै असर नपर्ने प्राधिकरणको दाबी छ ।

यी मुलुकसँग दुईतर्फी हवाई सम्झौता भएसँगै नेपालका तर्फबाट नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले सीधा उडान गर्नसक्ने जनाइएको छ । हाल नेपालमा टर्किस, कतार एयरवेज, सिङ्गापुर, थाइलगायत विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले विभिन्न ट्रान्जिट हुँदै नेपाल–अमेरिका उडान सेवा दिँदै आएका छन् । नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल नेपालले कूल ४० वटा मुलुकसँग दुईतर्फी सीधा उडानको सम्झौता गरिसकेको र ४० मध्ये २० वटा गन्तव्यमा नियमित व्यावसायिक उडान हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array