कांग्रेसको नेतृत्वमा बनेको संविधानले सबैलाई अधिकार दिएको छ : वरिष्ठ नेता पौडेल

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ कार्तिक २०७९, बिहीबार
1 Min Read
Aa

 तनहुँ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संविधानले सबै वर्गलाई अधिकार दिएको बताउनु भएको छ । तनहुँमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै उहाँले नेपालको संविधान दक्षिण एसियामा सबैभन्दा सन्तुलित रहेको बताउनुभयो ।

तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहनु भएका पौडेलले नेपालमा लोकतन्त्र साकार भइरहेको भन्दै त्यसलाई खलबलाउने प्रयास भइरहेको दाबी गर्नुभयो ।

“नेपालमा लोकतन्त्र सबल भइरहँदा त्यसलाई खलबलाउने कोसिस भइरहेको छ”, उहाँले भन्नुभयो, “लोकतन्त्र र जनताको अधिकारलाई रक्षा गर्दै अग्रगमनतर्फ अगाडि बढ्न प्रयत्न गर्न गठबन्धन तयार छ ।”

उहाँले सत्ता खराब व्यक्तिको हातमा सत्ता पुग्यो भने देश बर्बादीतर्फ जाने भएकाले जनता सचेत हुनुपर्ने बताउनुभयो ।

यहाँ आयोजित कार्यक्रममा बोल्दै पौडेलले तनहुँको छिम्केश्वरीलाई पर्यटनको केन्द्रबिन्दु बनाउने बताउनुभयो । उहाँले जिल्लाको सबैभन्दा उचाइमा अवस्थित छिम्केश्वरी धार्मिक तथा पर्यटकीय हिसाबले सम्भावना बोकेको ठाउँ भएकाले यसको बृहत्तर विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

छिम्केश्वरीको गुरुयोजना निर्माण गरेर यस ठाउँलाई धार्मिक पर्यटनको केन्द्रविन्दु बनाइने पौडेलको भनाइ थियो । “आँबुखैरेनी तनहुँ र गोरखाको केन्द्र हो, लमजुङ र मनाङको पनि प्रवेशविन्दु हो । गण्डकी प्रदेश छिर्ने नाका पनि हो, यसलाई नमूना बनाएर सन्देश दिनुपर्छ,” पौडेलले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array