‘कुमारी आमा’ निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मिल्यो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १९ कार्तिक २०७९, शनिबार
3 Min Read
Aa

धनुषा, ‘कुमारी आमा’का रुपमा चर्चामा आएकी निहारिका राजपुतको छोराको डीएनए शिवराज श्रेष्ठसँग मिलेको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ बस्ने २४ वर्षीय बलात्कार आरोपित शिवराज श्रेष्ठको डिएनए म्याच भएको हो । बीस वर्षीया बलात्कार पीडित सोनाली सिंह (निहारिका) ले जन्माएको बच्चा र आरोपित श्रेष्ठको डिएनए परिक्षण गराउँदा म्याच भएको हो ।

विधि विज्ञान प्रयोगशाला काठमाडौँले कात्तिक १८ गते उच्च अदालत जनकपुरलाई पठाएको डिएनए रिपोर्टमा बच्चा र शिवराजको डिएनए ९९ दशमलव९९९ प्रतिशत मिलेको रिपोर्ट आएको बलात्कार पीडित सिंहका वकिल रिङ्कु यादवले बताउनुभयो । उहाँका अनुसार
जिल्ला प्रहरी, सरकारी वकिल हुँदै उच्च अदालतमा डिएनए परीक्षणको रिपोर्ट आएको हो ।

शिवराज साधारण तारिखमा छन् । उनको यही कात्तिक २५ गते तारेख छ । चुनावपछि यो मुद्दाको पेशी चढ्ने उच्च अदालत जनकपुरका रजिष्ट्रार खड्गराज अधिकारीले जानकारी दिनुभयो ।

शिवराजले नशालु पदार्थ खुवाएर बलात्कार गर्दा बसेको गर्भबाट सोनालीले बच्चा भएको आरोप सोनालीले लगाउँदै आएकी छिन् । आरोपित शिवराज श्रेष्ठले आफूहरु बीच शारीरिक सम्पर्क भए पनि बच्चा आफनो नभएको दावी गर्दै आएका थिए ।

जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराईको इजलासले २०७८ माघ २४ गते शिवराजको पक्षमा फैसला गरेको थियो । न्यायाधीश भट्टराईले अभियोग दाबी नपुग्ने फैसला गर्नुभएको थियो । उनीहरू प्रेम सम्बन्धमा रहेको, श्रीमान् श्रीमतीकै हैसियतमा बसेको कुरा स्वयं वादीले स्वीकार गरेको, नाता कायमका लागि निवेदन लेखेको र प्रेमी शिवराज श्रेष्ठलाई छाड्न नसक्ने भनी निवेदनसमेत लेखिसकेको सम्बन्धमा यो जबरजस्ती करणी नभएको उक्त फैसलामा उल्लेख छ ।

अभियोगपत्रमै जबरजस्ती करणीको कसुरमात्रै लिएर गएकाले यो मुद्दालाई अदालतले जबरजस्ती करणीको महलमा मात्रै राखेर विश्लेषण गरेको र आरोपितलाई जबरजस्ती करणीको कसुरबाट सफाइ दिएको थियो ।

पछि जिल्ला अदालतको निर्णय विरुद्ध पुनरावेदन गर्दै उच्च अदालत जनकपुरमा पीडितले २०७८ फागुनमा उजुरी दिएकी थिइन् । उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले गत भदौ ८ गते दुवैजनाको डिएनए परीक्षण गर्न आदेश दिएको थियो । उच्च सरकारी वकिल कार्यालय जनकपुरमार्फत निहारिकाको रोहबरमा विधि विज्ञान प्रयोगशाला काठमाडौँमा डिएनए परीक्षण भएको थियो ।

उच्च अदालतले लामो समय पेशी नतोकेको र डिएनए परीक्षणको आदेश नदिएको भन्दै पीडित सोनाली सिंह दुई पटक आमरण अनशनमा बसेकी थिइन् । अनसनकै क्रममा निहारिकाले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने प्रयास गरेपछि ‘फास्ट ट्र्याक’मा मुद्दाको सुनुवाइ अघि बढाइएको हो ।

निहारिकाले गत साउन २७ गते राष्ट्रपति कार्यालय, शीतलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उपचारका लागि प्रहरी अस्पताल, महाराजगञ्ज भर्ना गरिएका बेला पनि उनी अनशन बसेकी थिइन् ।

पछि ५ भदौमा तत्कालीन कानूनमन्त्री गोविन्द बन्दीका् उपस्थितिमा तीन बुँदे सहमति भएपछि उनले अनशन तोडेकी थिइन् । सहमतिमा उनको मागबमोजिम आरोपी श्रेष्ठसँग उनको बच्चाको डीएनए परीक्षण गर्न उच्च अदालत जनकपुरसँग माग गर्ने सहमति गरिएको थियो । उनको मुद्दा विचाराधीन भएकाले अदालतमा सरकारी वकिलले नै यससम्बन्धी माग गर्नुपर्ने अवस्था थियो ।

प्रतिक्रिया दिनुहोस्

Array