कर्णालीमा नेपाल–युरोपियन युनियन चलचित्र महोत्सव शुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० कार्तिक २०७९, आईतवार
2 Min Read
Aa

कर्णाली , कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा नेपाल–युरोपियन युनियन चलचित्र महोत्सवको ११औँ संस्करण शुरु भएको छ । महोत्सवको उद्घाटनपछि नेपालस्थित युरोपेली युनियनको डेलिगेजनकी कार्यवाहक प्रमुख डा जोएले हिभोनेटले भन्नुभयो, “फिल्म महोत्सवले नेपाली–युरोपेली दुई समाजको आपसी समझदारीलाई प्रवद्र्धनमात्र गर्ने छैन, यसले सांस्कृतिक–सामाजिक सम्बन्धलाई पनि प्रगाढ बनाउँदै लैजानेछ ।”

उहाँले कर्णालीमा पहिलो चोटीको प्रयास भएको जनाउँदै यहाँको सांस्कृतिक, पर्यटकीय र सामाजिक समस्यालाई पनि चलचित्रका माध्यमबाट देखाउन सकिने बताउनुभयो । जोएलेका अनुसार इयूका २७ सदस्य राष्ट्रहरूले पनि महोत्सवमा प्रतिबद्धतासहित हस्ताक्षर गरेका छन् । यहाँको सहयोग सद्भावले कर्णालीमा अर्कोपटक पनि आउने प्रतिबद्धता उहाँले गर्नुभयो ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा नन्दबहादुर सिंहले यो फिल्म महोत्सवले कर्णालीको इतिहास, पुरातत्व र सांस्कृतिक अध्ययन तथा अनुसन्धानमा ठूलो सहयोग पुग्ने बताउनुभयो । महोत्सवले इयू र नेपाली नागरिकबीचको सम्बन्ध कायम हुने भन्दै उहाँले यसबाट सांस्कृतिक आदान–प्रदान हुने जनाउनुभयो ।

नेपालका लागि युरोपेली युनियनको डेलिगेशनका प्रेस तथा सूचना अधिकारी अम्बर मैनालीले यो वर्षको चलचित्र भौतिक र अनलाइन माध्यम गरी मिश्रित विधिबाट महोत्सव आयोजना गरिएको बताउनुभयो । कात्तिक ११–१५ गतेसम्म चलचित्र विकास बोर्ड काठमाडौँ भइसकेको बताउँदै उहाँले अब सुर्खेतमा कात्तिक १९–२२ गतेसम्म पाँच युरोपियन र तीन नेपाली चलचित्र प्रदर्शन गरिने जनाउनुभयो ।

महोत्सव उद्घाटनको दिन आज मध्यपश्चिम विश्वविद्यालयको हलमा अरस्टी रियाहीले निर्देशन गरेको ‘अस्कर एवं लिली’ फिल्म प्रदर्शन भएको छ । दोस्रो दिन १३ युरोपियन चलचित्रमध्ये लोरेन्ट मिचेली र ओस्कारले निर्देशन गरेको ‘लोला’ किरण श्रेष्ठले निर्देशन गरेको ‘यट द अनदर विन्टर’ प्रदर्शन गरिनेछन् ।

तेस्रो दिन मुनिका सीमेट्सले निर्देशन गरेको ‘द लिटल कम्रेड’, रीता हुतानेनले निर्देशन गरेको ‘गड्स अफ मालेन्बेक’ र विशाल मगरले निर्देशन गरेको गोर्खा गल्र्स’ महोत्सवमा देखाइने छन् । चौथो दिन मिसा क्याम्पले निर्देशन गरेको ‘रोमिज सलुन्’ र चलचित्र महोत्वसका आकर्षणहरूमध्ये सुजित भण्डारीले निर्देशन गर्नुभएको एक ‘ऐना झ्यालको पुतली’ महोत्सवको समापन चलचित्र हुने जनाइएको छ ।

डेलिगेसनका पे्रस तथा सूचना अधिकारी मैनालीले सुर्खेतमा चलचित्रकर्मी सुजित बिडारीले कर्णाली प्रदेशका चलचित्रका विद्या तथा चलचित्रकर्मीहरूलाई प्रशिक्षण कक्षा सञ्चालन गर्नुहुने जनाउनुभयो । कोभिड महामारीका कारण दुई वर्षको अन्तरालपछि सिनेमा हलमा युरोपका १३ उत्कृष्ट चलचित्रका साथै तीन नेपाली चलचित्र प्रस्तुत गर्न पाउनुले अत्यन्तै उत्साहित बनाएको आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array