राजनीतिक दलले गरे आचारसंहिता पालना गर्ने प्रतिबद्धता

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २६ कार्तिक २०७९, शनिबार
3 Min Read
Aa

त्रिशूली, नुवाकोटका राजनीतिक दल र उम्मेदवारहरुले आगामी आमनिर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सामूहिक प्रतिबद्धता जनाएका छन् ।

प्रतिनिधिसभा तथा प्रदेससभा सदस्यका लागि मङ्सिर ४ गते हुन लागि रहेको निर्वाचनको दौरानमा आचारसंहिता उल्लङ्घन हुनेक्रम बढेपछि राजनीतिक दल र उम्मेदवारलाई नुवाकोट प्रशासनको आह्वानमा सर्वदलीय/सर्वपक्षीय बैठकमार्फत् ११ बुँदे प्रतिबद्धता जनाउन लगाएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिनुभयो ।

उहाँको अनुसार जिल्लाका राजनीतिक दल, उम्मेदवार तथा उनीहरुको प्रतिनिधिले आचारसंहिताको पूर्णपालना गर्दै निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न प्रतिबद्धतापत्रमा सामूहिक हस्ताक्षर गरेका छन् ।

“आगामी निर्वाचनलाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबैले आआफ्नो पक्षबाट निर्वाह गर्र्नुपर्ने भूमिकाको पालना गर्न सहमत छौँ”, नुवाकोटमा क्रियाशिल राजनीकि दल र उम्मेदवारले हस्ताक्षर गरेको प्रतिबद्धतापत्रमा भनिएको छ, “निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण, विश्वसनीय र भयरहित तवरबाट सम्पन्न गर्न आवश्यक सहयोग गर्दै निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्यक्रमको जानकारी प्रशासन–प्रहरीबाट अनुमति लिएर मात्र गर्नेछौँ ।”

मतदान अधिकृत, कर्मचारी तथा सुरक्षाकर्मीलाई मतदानस्थलको निर्माण, सुरक्षा व्यवस्थापन, सरोकारवालासँगको बैठक सञ्चालनमा सहयोग गर्ने उनीहरुले प्रतिबद्धता जनाएका छन् ।

निर्वाचनको क्रममा हुनसक्ने झैझगडा नियन्त्रण गर्न आफ्ना चुनावी कार्यक्रममा एक अर्काको कार्यकर्तालाई उत्तेजित बनाउने काय नगर्ने तथा अपराधजन्य कार्यमा संलग्नलाई कानुनी कारबाही गर्न सहयोग पु¥याउन दल र उम्मेदवारले प्रतिबद्धता जनाएका छन् ।

दलहरुले निर्वाचनमा सहभागी हुने क्रममा उम्मेदवारको बुथ प्रतिनिधिसभा तथा मतगणना प्रतिनिधिको नाम समयमा उपलब्ध गराउने, मतदानको मौन अवधिमा प्रचारप्रसार नगर्नेसहित निर्वाचन आचारसंहितामा तोकिएका शर्तको पूर्णरुपमा पालना गर्न ऐक्यबद्धता जनाएका छन् ।

आचारसंहिता अनुसार अनुमति प्राप्त सवारीसाधन मात्रै सञ्चालन गर्ने, मतपेटिका सङ्कलन तथा मतगणना कार्य सहज बनाउन र मतदानका दिन मतदातालाई प्रभाव पार्ने, मतदानलाई बिथोल्ने कार्य नगर्ने सहमति जनाएका छन् ।

आमनिर्वाचनअन्तर्गत नुवाकोटमा चुनावी प्रचारप्रसारको क्रममा दल र उम्मेदवारहरुले कात्तिक १७ गतेपछि आचारसंहिता उल्लङ्घनका गतिविधि बढाएसगैँ प्रशासनले यो दोस्रो पटक आचारसंहिता पालना गराउन प्रतिबद्धता जनाउन लगाएको हो । यसअघि गत असोज २१ गते राजनीतिक दलका प्रतिनिधिलाई आचारसंहिता पालना गर्न सामूहिक प्रतिबद्धता गराइएको थियो ।

त्यसपश्चात जिल्लामा प्रचारप्रसारको क्रममा मापदण्ड विपरीत प्रचारका सामग्री टाँस गर्ने, हुलहुज्जत हुने गरेर सभा सम्मेलन गर्ने, सभा सञ्चालन तथा सवारीसाधन प्रयोगमा अनुमति नलिनेलगायत उजुरी बढेपछि दल र उम्मेदवारको ध्यानाकर्षण गराइएको हो ।

राजनीतिक दल र उम्मेदवारबाट सामूहिक रुपमा जनाएको प्रतिबद्धताको पालना हुन्छ भन्नेमा विश्वस्त रहेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताउनुभयो ।

“आचारसंहिताको पालना गर्दै सौहार्दपूर्ण वातावरणमा चुनाव गराउन दल र उम्मेदवारले जनाएको ऐक्यबद्धताले आमनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन सहयोग पुग्दछ”, प्रजिअ रिसालले भन्नुभयो, “निर्वाचनका लागि सुरक्षा प्रबन्ध, कर्मचारी परिचालनसहित आवश्यक सामग्री व्यवस्थापन अन्तिम चरणमा पुराइएको छ ।”

नुवाकोटमा आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि ६३ उम्मेदवार प्रतिस्पर्धामा छन् । दुई लाख ३९ हजार सात सय २६ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभातर्फ दुई र प्रदेससभातर्फ चार पद गरी छ पदका लागि निर्वाचित हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

Array