मधेसी जनताको अधिकारका लागि सङ्घर्ष जारी : जसपा अध्यक्ष यादव

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० कार्तिक २०७९, बुधबार
2 Min Read
Aa

राजविराज, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी जनताको अधिकारका लागि पार्टीले सङ्घर्ष जारी राखेको बताउनुभएको छ ।

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित तोपामा  आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले देशमा सय वर्षदेखि शोषण, उत्पीडन र विभेदमा परेका मधेसी, मुस्लिम, आदिवासी, जनजाति, महिला, दलित र सीमान्तकृत वर्गका लागि अहिले पनि सङ्र्घष जारी नै रहेको बताउनुभयो ।

मुलुकमा सङ्घीय गणतन्त्र स्थापना गर्न जसपा पार्टीको अहम् भूमिका रहेको भन्दै उहाँले मधेसी जनतमाथि भइरहेको विभेद अन्त्य गर्न अझै जसपाले सङ्घर्ष गरिरहेको बताउनुभयो ।

सप्तरी क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार तथा जसपा अध्यक्ष यादवले वर्तमान खर्चिलो चुनावी प्रणालीलाई सच्याउनुपर्नेमा समेत जोड दिनुभयो । उहाँले भन्नुभयो, “अहिलेको निर्वाचन प्रणाली अति नै खर्चिलो छ, पैसा नहुने तर निर्वाचनका लागि योग्य उम्मेदवारले पनि भाग लिन पाउने अवसरका लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता छ ।”

“सबै जातजाति, वर्ग र तहको अधिकारका लागि संविधान संशोधन गर्न आवश्यक छ”, उहाँले भन्नुभयो । अध्यक्ष यादवले सप्तरीको विकासका लागि शिक्षा, स्वास्थ्य, सडकलगायतका पूर्वाधारको विकास आवश्यक रहेको उल्लेख गर्नुभयो । देशको मेरुदण्डका रूपमा रहेको हुलाकी राजमार्ग निर्माण कार्य सम्पन्न भए मधेसी जनतालाई लाभ हुने उहाँको भनाइ थियो ।

चुनावी सभामा मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले समृद्ध मधेसको विकास गर्न प्रदेशसभा सदस्यमा पुनः उम्मेदवारी दिएको बताउनुभयो । मधेस प्रदेशसहित अधिकार प्राप्तिको सरकार हुनुपर्ने बताउँदै उहाँले विकास र अधिकारका लागि जसपाका उम्मेदवारलाई जिताउन मतदातासमक्ष आग्रह गर्नुभयो ।

पार्टी प्रवक्ता मनिष सुमनले मधेसी जनताको पहिचान जोगाउनका लागि प्रतिनिधिसभाका उम्मेदवार एवं पार्टी अध्यक्ष यादवलाई जिताउनु पर्नेमा जोड दिनुभयो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array