सामुदायिक र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याउँछु : नेता सिंह

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० कार्तिक २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ, नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सामुदायिक विद्यालय र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याउने दाबी गर्नुभएको छ ।

लोकतान्त्रिक-वामगठबन्धनको तर्फबाट काठमाडौँ क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएका नेता सिंहले आज बिहान घरदैलो कार्यक्रममा बोल्दै मुलुकको शिक्षाको विकासका लागि सामुदायिक र निजी विद्यालयको शिक्षाको गुणस्तरमा समानता ल्याइने बताउनुभएको हो ।

नेता सिंहले घरदैलोका क्रममा मतदाताले गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको माग राखिरहेको बताउँदै भन्नुभयो, “निर्वाचनमा जित हासिल गरेपछि गुणस्तरीय शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्छु ।”

उहाँले जनताले खानेपानीको समेत माग गरिरहेको बताउनुभयो । शिक्षामा समानताका लागि सङ्घीय शिक्षा ऐन बनाउँदा जोड दिने उहाँको भनाइ थियो ।

पूर्व उपप्रधानमन्त्री सिंहले मतदाताले अब पनि चुनाव जिताएर पठाउने र आफूलाई प्रधानमन्त्रीको रुपमा हेर्न चाहेको प्रतिक्रिया दिएको बताउनुभयो । नेता सिंहले काठमाडौँ क्षेत्र नं १ भित्र भएका सार्वजनिक जग्गा अनाधिकृत रुपमा प्रयोग भएकाले त्यसलाई फर्काएर सानो खेलग्राम र पार्क बनाउने आफ्नो योजना रहेको बताउनुभयो ।

संवैधानिक निकायमा राजनीतिकरण नहुने भन्दै योग्य व्यक्ति चुन्नुपर्ने उहाँको भनाइ थियो ।-

प्रतिक्रिया दिनुहोस्