काठमाडौँलाई सुन्दर सहर बनाउँछु : पूर्वमन्त्री प्रधान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ मंसिर २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौँ, नेपाली कांग्रेसका नेता एवं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले काठमाडौँलाई स्वच्छ र सुन्दर सहर बनाउने बताउनुभएको छ । संयुक्त ट्रेड युनियन तारकेश्वर नगर कार्यसमितिले हिजो साँझ आयोजना गरेको ‘निर्वाचनमा पेसागत तथा ट्रेड युनियनकर्मीको भूमिका’ विषयक कार्यक्रममा उहाँले काठमाडौँलाई सुन्दर सहर बनाउने बताउनुभएको हो ।

“काठमाडौँ देशको राजधानी हो, यहाँ सबै जिल्लाका मानिस बस्न आउँछन्, यस क्षेत्रलाई नमुना सहर बनाउने जिम्मा काठमाडौँबाट निर्वाचित जनप्रतिनिधिको हो, म निर्वाचनमा विजयी भएमा काठमाडौँलाई बस्नयोग्य क्षेत्रका रुपमा विकास गर्छु”, उहाँले भन्नुभयो ।

उहाँले राजनीतिलाई सही दिशामा लैजानका लागि बुद्धिजीवी, पेसागत र नागरिक समाजको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्य बन्नुभएका नेता प्रधानले निर्वाचनमा सही विवेक प्रदान गर्न मतदातालाई आग्रहसमेत गर्नुभयो ।

नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य हिमाल शर्माले मुलुकको विकासका लागि गठबन्धनका उम्मेदवारको जीत आवश्यक रहेको बताउनुभयो । “गठबन्धनभित्र भएको अन्तरविरोधलाई थाती राखेर आगामी निर्वाचनमा लोकतान्त्रिक वाम–गठबन्धनका उम्मेदवारलाई विजयी गराउन सबै लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।

काठमाडौँ क्षेत्र नं ६ प्रदेशसभा (१)का उम्मेदवार हरिप्रभा श्रेष्ठ खड्गी र प्रदेशसभा (२)का उम्मेदवार विष्णुभक्त तिमल्सिनाले कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधानको रक्षाका लागि लोकतान्त्रिक वाम–गठबन्धनको निर्माण भएको बताउनुभएको थियो ।

नेपाल ट्रेड युनियन कांग्रेस तारकेश्वर नगरपालिकाका सभापति अच्युत ओझाले लोकतान्त्रिक पद्धतिको रक्षा गर्न गठबन्धन निर्माण भएकाले उक्त गठबन्धनलाई जोगाउनु अहिलेको आवश्यकता रहेको उल्लेख गर्नुभयो । सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी एक दर्जनभन्दा बढी व्यक्ति कांग्रेस प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array