बाजुरा त्रिवेणी घटना : गृहमन्त्री निर्देशन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ मंसिर २०७९, सोमबार
2 Min Read
Aa

काठमाण्डौं । गृहमन्त्री बालकृष्ण खाणले दुई जनाको मृत्यु र तीन जना घाइते भएपछि असहज भएको बाजुराको त्रिवेणी नगरपालिकामा शान्तिपूर्ण वातावरण बनाउन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

गृहमन्त्री खाणले गृहसचिव विनोदप्रकाश सिंह, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव फणिन्द्रमणि पोखरेल र बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीलाई असहज परिस्थितिलाई सामान्यीकरण गरी शान्तिपूर्ण अवस्थामा फर्काउन निर्देशन दिनुभएको हो ।

आइतबारको निर्वाचनमा मतदान भइरहेको समयमा त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा प्रहरी र स्थानीयवासीबीच झडप हुँदा गोली लागेर स्थानीय सञ्जीव ऐडीको घटनास्थलमै मृत्यु भएको थियो । त्यसपछि भएको अर्काे घटनामा घाइते भएका स्थानीय चेतन ऐडीको बयलपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

केन्द्र र जिल्लाको पहलमा अहिले अवस्था बिहानको भन्दा सामान्य रहेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रबहादुर विष्टले जानकारी दिनुभयो ।

गृह मन्त्रालयका प्रवक्तासमेत रहनुभएका सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव पोखरेलले केन्द्र र जिल्लाको पहलले बाजुराको त्रिवेणीको अवस्था सामान्य बन्दै गएको बताउनुभयो । यसैबीच गृहमन्त्री खाणले बैतडीको पाटनमा मतपेटिका पु¥याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना हुँदा चार प्रहरीको मृत्यु र केही घाइते भएको घटनाबारे जानकारी लिँदै घाइतेलाई उचित उपचारको प्रबन्ध मिलाउन निर्देशन दिनुभएको छ ।

बैतडीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा केन्द्रका सुरक्षा प्रमुखसँग यसबारे जानकारी लिँदै उचित उपचारको प्रबन्ध मिलाउन र जिल्लाको स्रोतले नपुग्ने भए मन्त्रालयमा लेखी पठाउन उहाँले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array