पशुपति क्षेत्रमा शतबीज पर्व पछि सफाइ सुरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ६ मंसिर २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौँ, विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन छरिने शतबीज पर्व मनाएपछि सफाइ सुरु गरिएको छ । बाला चतुर्दशीका अवसरमा आज बिहान छरिएको शतबीजबाट जम्मा भएको फोहर दिउँसो १ बजेदेखि सफाइ गर्न थालिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले राससलाई जानकारी दिनुभयो ।
पहिलो चरणमा मूल मन्दिर क्षेत्रमा सफाइ गरिने छ । मन्दिरमा दर्शन गर्न जाने बाटो र ढुङ्गा छापिएको स्थानमा जम्मा भएको फोहर पनि सफाइ गरिने उहाँले जानकारी दिनुभयो । बालाचतुर्दशीका अवसरमा पशुपति क्षेत्रमा जम्मा भएको फोहर तीन दिनमा सफाइ गरी सकिने कोषले जनाएको छ । ढुङ्गा नछापिएको जमिनमा छरिएको शतबीज भने सफा नगरिने भएको छ । खाली जमिनमै शतबीज छर्नुपर्ने भए पनि सबैतिर छरिएकाले अभियानका रुपमा सफाइ गर्नुपरेको हो ।

सफाइका लागि कोषका करिब १०० सफाइकर्मी परिचालन गरिएको छ । पशुपति क्षेत्रमा जम्मा भएको फोहर तीन दिनमा सफाइ गरी सकिने कोषको लक्ष्य छ । मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन सोमबार बेलुकी दिवङ्गत पितृका नाममा महादीपदान गरी रातभर जाग्राम बसेका भक्तजनले आज बिहान स्नान गरी पशुपति क्षेत्रका विभिन्न स्थानमा शतबीज छरेका थिए । पशुपति क्षेत्रमा बाला चतुर्दशी पर्व मनाउन लाखौँ भक्तजन देशका विभिन्न भागबाट जम्मा भएका थिए ।

प्रतिक्रिया दिनुहोस्