अनुभवी नेता अर्जुननरसिंह केसीको राजनीतिक जीवन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० मंसिर २०७९, शनिबार
2 Min Read
Aa

काठमाडौँ, मुलुकको राजनीतिमा अनुभवी एवं पुराना नेता अर्जुननरसिंह केसी ७५ वर्षमाथिको उमेर समूहबाट संसद् प्रवेश गर्नेमा थोरै नेतामध्येका एक हुनुहुन्छ ।

उमेरले ७० कटे पनि राजनीतिमा भने उहाँ सक्रिय हुनुहुन्छ । विसं २००४ असोज ११ गते नुवाकोटको राउतबेँसीमा पिता भगवान्सिंह केसी र माता यशोदादेवीका सुपुत्रका रूपमा जन्मनुभएका केसी विसं २०१८ देखि राजनीतिमा सक्रिय हुनुहुन्छ । स्नातकोत्तर र बिएलसम्मको अध्ययन गर्नुभएका उहाँले छ वर्ष नौ महिना जेल जीवन बिताउनुभएको छ । पार्टी प्रतिबन्ध र आन्दोलनका क्रममा केसी पटक–पटक भूमिगत बस्नुभएको छ । त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रको प्राध्यापन र कानुन व्यवसायीका रूपमा समेत काम गर्नुभएका केसीले एसिया, युरोप, अमेरिका, अष्टे«लिया, ल्याटिन अमेरिका र अफ्रिकालगायतका ३५ भन्दा बढी देशको भ्रमण गर्नुभएको छ । केसीले नेपाली कांग्रेसको सहमहामन्त्री, प्रवक्ताका साथै पार्टीको विभिन्न विभागको प्रमुख एवं केन्द्रीय सदस्य भएर काम गरिसक्नुभएको छ ।

केसीले शिक्षा, स्वास्थ्य, भौतिक योजना तथा निर्माण एवं सहरी विकासमन्त्री भएर कार्यकारी भूमिकामा पनि काम गरेको अनुभव सँगाल्नुुभएको छ । नेता केसी समसामयिक विषयमा पत्रपत्रिकामा लेख लेखिरहने नेतामध्येमा पर्नुहुन्छ ।

यसपटकको संसदीय निर्वाचनमा नुवाकोट जिल्ला निर्वाचन क्षेत्र नं २ बाट कांग्रेसका तर्फबाट उहाँ उम्मेदवार बन्नुभएको थियो । केसी २८ हजार एक सय सात मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले १६ हजार चार सय ७७ मत पाउनुभयो । नेकपा (एमाले)का उम्मेदवार नारायणप्रसाद खतिवडाले १५ हजार पाँच सय ६१ मत ल्याउनुभयो । यसअघि विसं २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार खतिवडासँग केसी १० हजार मतान्तरले पराजित हुनुभएको थियो । केसी यो पटक खतिवडाभन्दा १२ हजार पाँच सय ६४ मतान्तरले निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्