प्रदेशसभाबाट प्रतिनिधिसभामा प्रवेश गर्ने र रोकिनेहरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ मंसिर २०७९, मंगलवार
3 Min Read
Aa

काठमाडौँ, बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे यसपटकको निर्वाचनमा धादिङ निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभयो ।

विसं २०७४ को निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित पाण्डे यसपटक नेकपा (एकीकृत समाजवादी) पार्टीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको हो ।

गत निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नं १ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित भई प्रदेश नं १ को मुख्यमन्त्रीसमेत भइसक्नुभएका भीमप्रसाद आचार्य यसपटक सुनसरी निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको छ ।

विसं २०७४ निर्वाचनमा कालिकोटबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका महेन्द्रबहादुर शाही यसपटकको निर्वाचनमा कालिकोटबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ । शाही कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री हुनुभएको थियो ।

गत निर्वाचनमा लमजुङबाट प्रदेशसभा सदस्य निर्वाचित भई गण्डकी प्रदेशको मुख्यमन्त्रीसमेत बन्नुभएको पृथ्वी सुब्बा गुरुङ यसपटक भने प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । गुरुङ गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री बन्नुभएको थियो ।

विसं २०७४ को संसदीय निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका विराजभक्त श्रेष्ठ यसपटकको निर्वाचनमा काठमाडौँ ८ बाट सांसद पदमा विजयी हुनुभएको छ । गत निर्वाचनमा विवेकशील साझा पार्टीबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रदेशसभा सदस्य निर्वाचित हुनुभएका श्रेष्ठ यसपटक स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

त्यसैगरी, सल्यानको प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका प्रकाश ज्वाला यसपटक नेकपा एकीकृत समाजवादीबाट उम्मेद्वार भई प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ । गत निर्वाचनमा प्रदेशसभा सदस्य निर्वाचित भई ज्वाला कर्णाली प्रदेशको मन्त्रीसमेत बन्नुभएको थियो ।

विसं २०७४ को निर्वाचनमा कांग्रेसका तर्फबाट कैलाली ५ (२) बाट निर्वाचित डिल्लीराज पन्त अहिले कैलालीको ५ नं क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ ।

विसं २०७४ को निर्वाचनमा सिन्धुलीबाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएका लेखनाथ दाहाल यसपटक सिन्धुली निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित हुनुभएको छ ।

विसं २०७४ को निर्वाचनमा सिन्धुपाल्चोक १ बाट प्रदेशसभामा निर्वाचित सरेश नेपालले यसपटक प्रतिनिधिसभामा उम्मेद्वारी दर्ता गराएपनि माओवादीका माधव सापकोटाबाट पराजित हुनुभएको छ । नेपाल यसअघि वाग्मती प्रदेशको मन्त्रीसमेत हुनुभएको थियो ।

विसं २०७४ को निर्वाचनमा भोजपुर निर्वाचन क्षेत्र नं १ (२) बाट प्रदेशसभा सदस्य निर्वाचित भई प्रदेश नं १ को पहिलो मुख्यमन्त्री निर्वाचित हुनुभएका शेरधन राई यसपटकभोजपुरबाट प्रतिनिधिसभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र)का सुदन किरातीबाट पराजित हुनुभएको हो ।

यसअघि काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रदेशसभा सदस्य निर्वाचित मणिराम फुँयालले काठमाडौँ २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा (एमाले) का तर्फबाट टिकट पाउनुभएको थियो । उहाँ पनि राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमसँग पराजित हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्