सहकारीको बचत लिएर विदेश हिँड्ने सञ्चालक, कर्मचारीलाई कानूनी दायरामा ल्याइने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २४ मंसिर २०७९, शनिबार
3 Min Read
Aa

काठमाडौँ, सहकारीमा बचतकर्ताले राखेको बचत लिएर स्वदेश वा विदेश जहाँसुकै पुगेका सहकारी संस्थाका सञ्चालक एवं कर्मचारीलाई कानूनी कारबाहीको दायरामा ल्याइने भएको छ ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय अनामनगरले दोलखाको सदरमुकाम चरिकोटमा आयोजना गरेको ‘सुशासनको प्रवद्र्धनमा सहकारी संस्थाको सञ्चालन र व्यवस्थापन’ विषयक दुईदिने कार्यशाला गोष्ठी उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष काशीराज दाहालले बचतकर्ताको पैसा लिएर विदेश पुगेका सञ्चालक वा कर्मचारीलाई इन्टरपोलको सहयोगका माध्यमबाट झिकाएरसमेत बचत फिर्ता गर्ने गरी काम थालिएको जानकारी दिनुभयो ।

स्वदेशमै लुकेर बसेका समस्याग्रस्त सहकारीका सञ्चालक एवं कर्मचारीलाई भने राहदानी जफत, विदेश भ्रमणमा रोक एवं कालोसूचीमा राखी नाम सार्वजनिक गराउने तयारीमा पनि समिति रहेको जानकारी उहाँले दिनुभयो । सहकारी ऐन, कानूनअनुसार नचल्दा करिब एक हजार सहकारी समस्याग्रस्त भएको अनौपचारिक जानकारी पाए पनि हालसम्म १२ वटालाई मात्र सरकारले समस्याग्रस्त घोषणा गरेको छ ।

सरकारले घोषणा गरेका १२ वटा सहकारीमध्ये सोसाइटल बचत तथा ऋण सहकारी संस्थाका सबै बचतकर्तालाई समितिले बचत फिर्ता दिएको जानकारी पनि अध्यक्ष दाहालले गराउनुभयो । बाँकी ११ सहकारीका बचतकर्तालाई पनि क्रमशः बचत फिर्ता गराउन यिनका सञ्चालक, कर्मचारी र ऋणीमाथि कानूनअनुसार हदैसम्मको कारबाही प्रक्रियामा समिति अघि बढ्न लागेको हो ।

करिब ८० प्रतिशत सहकारीका नियमन गर्ने दायित्व स्थानीय सरकारको भएकाले सातै प्रदेशका स्थानीय तहमा पुगेर सुशासनसम्बन्धी चेतनामूलक कार्यक्रम गर्न लागिएको समितिको कार्यालयका प्रमुखसमेत रहनुभएका सदस्यसचिव केशवप्रसाद पौडेलले बताउनुभयो । दोलखामा आजदेखि सुरु भएको दुईदिने कार्यक्रममा सिन्धुपाल्चोक, दोलखा र रामेछापका गरी १४ स्थानीय तहका सहकारी हेर्ने कर्मचारी, जिल्ला सहकारी सङ्घका पदाधिकारी गरी करिब ५० जनाको सहभागिता छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख बद्रीराम घतानीले अनुचित ठाउँमा लगानी गर्ने सहकारीले बचत फिर्ता गर्न नसकेको उल्लेख गर्नुहुँदै सुशासनका लागि तीनै तहका सरकारसँगै सहकारी अभियानकर्मी पनि लाग्नुपर्नेमा जोड दिनुभयो ।

सहकारीले जुन कामका लागि ऋण दिएका हुन्छन् स्थलगतरूपमा हेर्दा त्यसमा लगानी नहुने गरेकाले पनि समस्या आउने गरेको उहाँले सुनाउनुभयो । बचत तथा ऋण सहकारी फस्टाएर अरु गुमनाम भएकाले नियामक निकायको त्यसतर्फ पनि ध्यान जानुपर्ने उल्लेख गर्नुहुँदै समन्वय समिति प्रमुख घतानीले यसका लागि संयोजन गर्न आवश्यक सहयोग गरिने प्रतिबद्धता जनाउनुभयो ।

भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले आर्थिक पारदर्शिता सहकारी एवं वित्तीय संस्थाको मुख्य विषय भएको बताउनुहुँदै कानून पालना गरेमा सहकारीमा समस्या नआउने बताउनुभयो । नगरपालिका सहकारीमा नियमन गर्न लागिपरेको जानकारी पनि उहाँले गराउनुभयो ।

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घका सञ्चालक जीवसराज खड्काले सहरी क्षेत्रका सहकारीले कानून पालना नगरी समस्यामा पर्दा राम्रोसँग काम गरेका ग्रामीण भेगका सहकारीलाई पनि त्यही दृष्टिबाट हेर्ने गरिएको बताउनुभयो । जिल्ला सहकारी सङ्घ दोलखाका अध्यक्ष हेमन्त चौलागाईँले सहकारीका मूल्य, मान्यता, सिद्धान्त र सहकारी कानूनविपरीत जाँदा समस्यामा पर्ने क्रम बढ्न थालेको बताउनुभयो । दोलखाका सहकारीमा देखिने गरी समस्या नआएको उल्लेख गर्नुहुँदै उहाँले धेरै सहकारी सुशासनमै चलेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्