कार्यस्थलमा हुने यौनहिंसासम्बन्धी बैठक

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २५ मंसिर २०७९, आईतवार
3 Min Read
Aa

काठमाडौँ, काठमाडौँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) घनश्याम भुसाल अधिकारीले कार्यस्थलमा हुने यौनजन्य हिंसाका विषयमा ¬¬¬कार्यालय प्रमुखहरूको बैठकमा छलफल गर्ने प्रतिबद्धता जनाउनु भएको छ । आज सम्पन्न, कार्यस्थलमा हुने यौनहिंसाका सम्बन्धमा मुद्दा पहिचान तथा उठान गर्न विभिन्न सरोकारवालाहरूसँगको समन्वयात्मक बैठकमा उहाँले लैङ्गिक र यौन हिंसाबारे सबै कर्मचारीलाई सचेत गराउन आवश्यक रहेको बताउनुभयो ।

“हरेक कार्यालय प्रमुखहरूलाई कार्यालयस्थलमा हुने यस्ता हिंसाबारे जानकारीमूलक प्रस्तुति दिन सके उहाँहरूले आफू मातहतका कर्मचारीमा समेत यो जानकारी बाँड्न सक्नुहुन्छ”, उहाँले भन्नुभयो, “सचेतना वृद्धिका लागि उच्च अधिकारी, कार्यालय प्रमुखदेखि मन्त्रालयका प्रमुखसम्म पु¥याउनका लागि अनुरोध गर्नेछु र जिल्लाभित्रका विषयमा म आफूले नै सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।”

उहाँले लैङ्गिक र यौन हिंसा भनेको के हो र पीडितले हिंसा महसुस भएपछि के गर्नुपर्छ र कहाँ कसरी उजुरी गर्ने भन्ने स्पष्ट जानकारी वा सचेतना वृद्धिका लागि आफू लागिपर्ने बताउनुभयो ।

राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले कार्यस्थलमा हुने लैङ्गिक हिंसाका अभिमुखीकरण कार्यक्रम सबै निकायले कार्यान्वयन गर्न नसकेको गुनासो गर्नुभयो । उहाँले यस विषयमा आयोगले उजुरीको विषयमा अनुगमन गर्न असहज भइरहेको बताउनुभयो । “एउटै कार्यालयबाट पटक पटक बिना–नाम प्रवृत्तिगत ढङ्ले आएको उजुरीउपर कसरी काम गर्ने ? तोरी सुकाएको ठाउँमा सियो खोजेस्तो देखिँदैन, खोज्न पर्दा घोच्छ ।”, उहाँले भन्नुभयो । हिंसा भइरहँदा पनि अभिलेखीकरण नहुँदा काम गर्न असहज भइरहेको उहाँको भनाइ थियो । उहाँले सरकारी तथा गैरसरकारी सबै कार्यालयभित्र उजुरी गर्ने संयन्त्र र आएका उजुरीउपर अनुगमन गर्ने संयन्त्र बनाउन आग्रहसमेत गर्नुभयो ।

ललितपुर महानगरपालिका महिला विकास महाशाखाकी प्रमुख महेश्वरी विष्ट रावलले कार्यालयमा हुने यौनहिंसा र लैङ्गिक हिंसाका मुद्दामा जनप्रतिनिधिको विशेष ध्यानाकर्षण हुनुपर्ने बताउनुभयोे । “लैङ्गिक हिंसा र कार्यालयमा हुने यौन हिंसाका कुरा जनप्रतिनिधिको प्राथमिकतामा परेको छैन । अर्कातर्फ कार्यालयभित्र हिंसाका घटना सुनिन्छ तर उजुरी आउँदैन ।”

नेपाल टेलिकमकी इन्दु आर्चायले सहकर्मी र माथिल्लो तहका कर्मचारीबाट हुने यौन हिंसाविरुद्ध उजुरी दिन सक्ने वातावरण नभएको गुनासो गर्नुभयो । “पीडितले उजुरी गर्दा न्याय पाउने विश्वासको वातावरण छैन । धेरै पीडितले कार्यालयमा हुने यौनहिंसाका उजुरी गर्दा आफ्नो रोजीरोटीदेखि वृत्तिविकास नहुने डरमा उजुरी गर्न डराउनु भएको अवस्था छ”, उहाँले भन्नुभयो ।

टे«ड युनियन महासङ्घकी उपसचिव राधिका कुइँकेलले अनौपचारिक क्षेत्रका कार्यस्थलमा हुने हिंसामा आयोगको ध्यानाकर्षण गराउनुभयो । उहाँले भन्नुभयो, “अनौपचारिक क्षेत्रमा काम गर्ने महिला धेरै हुनुहुन्छ तर उहाँहरूको यकिन तथ्याङ्कसमेत छैन । उहाँहरूले कार्यस्थलमा भोग्न परेको लैङ्गिक तथा यौनहिंसाको विषयमा पनि सरकारको ध्यान जान पर्छ ।”

राष्ट्रिय महिला आयोगद्वारा आयोजित बैठकमा सरकारी, गैरसरकारी र अर्धसरकारी कार्यालयका महिला कर्मचारी र जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रतिनिधिहरूको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

Array