मानव बेचबिखन र बाल संरक्षणसम्बन्धी समाचार लेख्न आग्रह

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २७ मंसिर २०७९, मंगलवार
2 Min Read
Aa

काठमाण्डौं । विश्वव्यापी रुपमा जटिल समस्या बन्दै गएको मानव बेचबिखन र बाल संरक्षणसम्बन्धी समाचार लेख्न भक्तपुरका पत्रकारलाई अभिप्रेरित गरिएको छ । कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) ले नेपाल पत्रकार महासङ्घ भक्तपुरको संयोजनमा यहाँ आयोजना गरेको ‘मानव बेचबिखन तथा बाल संरक्षणसम्बन्धी अभिमुखीकरण’ कार्यक्रममा भक्तपुरका पत्रकारलाई ती विषयमा खोजी समाचार लेख्न अभिप्रेरित गरिएको थियो ।

कार्यक्रमका स्रोतव्यक्तिहरू अधिवक्ता कपिल अर्यालले मानव बेचबिखन तथा बाल संरक्षणसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ऐनकानुनको व्यवस्थाबारे जानकारी दिनुभएको थियो । उहाँले अहिले संविधानले बाल अधिकार संरक्षणको सम्पूर्ण जिम्मेवारी स्थानीय तहलाई दिएकाले स्थानीय तह र जनप्रतिनिधिले गम्भीर भएर लाग्ने हो भने मानव बेचबिखन तथा बाल संरक्षणमा ठूलो टेवा पुग्ने बताउनुभयो । उहाँले कस्ता र कुन रुपमा केका लागि बालबालिकाको बेचबिखन र तस्करी भइरहेको छ भन्नेबारेमा विविध कोणबाट चर्चा गर्नुभयो । देशभर बालश्रम वृद्धि गर्नेभन्दा पनि बालबालिकालाई उनीहरूका परिवारमा पुनर्मिलन गराउँदै बालश्रमको सङ्ख्या घटाउनुपर्नेमा अर्यालको जोड दिनुभयो ।

कार्यक्रममा पत्रकार सापकोटाले नेपालबाट भारत हुँदै विभिन्न देशमा वैदेशिक रोजगारीका नाममा मानव तस्करी र बेचबिखन हुने गरेको तर्क गर्नुभयो । मानव बेचबिखनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गिरोह नै सक्रिय रहेको बताउँदै उहाँले हरेक ६ महिनामा रुट परिवर्तन गर्दै तस्करीले गैरकानुनी रुपमा मानव बेचबिखन तथा ओसारपसार गर्ने गरेको बताउनुभयो । यसमा महिला र बालबालिकाको सङ्ख्या बढी रहेको र रोजगारीको प्रलोभन तथा मानव अङ्ग तस्करीका बेचबिखन हुने गरेको उहाँले औँल्याउनभयो ।

कार्यक्रममा भक्तपुर जिल्ला समन्वय समितिकी उपप्रमुख सुजाता बाडेले भक्तपुरमा मानव बेचबिखनको घटनामा ज्यादै न्यूनीकरण आएको बताउँदै चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई बाल श्रममुक्त घोषणा गरिसकेको बताउनुभयो । त्यस अवसरमा नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापति, सचिव सञ्जीव घिमिरे र सहभागी पत्रकारहरूले यस्ता मानवीय जीवनसँग जोडिएका विषयमा सचेत र संवेदनशील हुँदै समाचार सङ्कलन र प्रकाशन गर्नुपर्नेमा जोड दिनुभयो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array