ठमेलका व्यवसायी भन्छन्– दैनिकी चलाउनै गाह्रो छ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ मंसिर २०७९, बिहीबार
4 Min Read
Aa

काठमाडौँ,  दुई वर्ष कोरोनाको महामारीले ग्रस्त बनाएको पर्यटकको आकर्षणको केन्द्र ठमेलमा अहिले पनि व्यापारले गति नलिएको व्यवसायीहरूको गुनासो छ । नोभेम्बरमा सुरु हुनुपर्ने अफसिजन १५ दिन अगाडि नै सुरु भएपछि थप गाह्रो भएको उनीहरूको भनाइ छ ।

कोरोनाको समयमा मृतप्रायः रहेको ठमेलमा सेप्टेम्बर र नोभेम्बरमा व्यापारले गति लिएको र अहिले भने अफसिजन सुरु भएको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाले बताउनुभयो । व्यापार नभएकै कारण दुई वर्षदेखि रोकिएको ठमेलको पर्यटन व्यवसाय र त्यसमा आबद्ध व्यक्तिहरूको आर्थिक क्रियाकलाप असाध्यै अप्ठ्यारो अवस्थामा गुज्रिएको उहाँको भनाइ छ ।

कोरोना महामारीअघि एक वर्षमा १२ लाख पर्यटक नेपाल भित्रिने गरेकामा कोरोनापछि भने पाँच लाख पर्यटक आएको सरकारी तथ्याङ्क उहाँले सुनाउनुभयो । “पहिलेको तुलनामा अहिले ५० प्रतिशतमात्रै पर्यटक भित्रिएका छन्”, उहाँले भन्नुभयो । राज्यबाट ठमेल पर्यटनको विकासका लागि केही सहयोग नभएको भन्दै उहाँले गुनासो गर्नुभयो । उपाध्यक्ष धमलाले भन्नुभयो, “राज्यले नैतिक र आर्थिक सहयोग नगरे पनि पर्यटन व्यवसायमा आशाको त्यान्द्रा पलाएको छ ।” धमलाले परिषद्ले अबको दुई वर्षभित्र सुन्दर ठमेल बनाउने लक्ष्य राखेर अहिले होर्डिङ बोर्डको व्यवस्थापनलाई निरन्तरता दिइरहेको बताउनुभयो । पर्यटकीय क्षेत्रमा हुनुपर्ने न्यूनतम आधारभूत कुरा गरेर थप आधुनिकीकरण गर्ने परिषद्को लक्ष्य रहेको उहाँले सुनाउनुभयो ।

बाह्र वर्षदेखि ठमेलमा पस्मिनाको व्यवसाय गर्दै आउनुभएका टीकाराम नेपालले चुनावअघि व्यापार राम्रो भएको सुनाउनुभयो । “चुनावअघि घर फर्कनेले किनमेल गर्दा व्यापार राम्रो भएको थियो”, नेपालले भन्नुभयो, “तर अहिले आशालाग्दो व्यापार छैन । भाडा तिर्न पनि गाह्रो भएको छ ।” पर्यटकले सम्पूर्ण आवश्यक खर्च गरिसकेपछि बाँकी रहेको रकमले नेपाली सामान सम्झनाका लागि लैजाने गरेको उहाँको भनाइ छ । विदेशीले नेपालमा उत्पादन भएका सबै चिज मन पराउने उहाँले बताउनुभयो ।

नौ वर्षदेखि ठमेलमा हस्तकलाको व्यापार गर्दै आउनुभएकी देवकी न्यौपानेले कोरोना महामारीअघि दैनिक १० वटा माला बेचेको र अहिले दुईटा माला पनि बेच्न गाह्रो भएको सुनाउनुभयो । अहिले व्यापार कम हुनुको कारण विश्वव्यापीरूपमा रहेको आर्थिक सङ्कट भएको उहाँको भनाइ छ । न्यौपानेले पर्यटकको सङ्ख्या कम भएसँगै व्यापार पनि घटेको बताउनुभयो ।

चुनावअघि व्यापार राम्रो भए पनि अहिले खर्च धान्नै गाह्रो भएको फोटो व्यापारी देवकी भण्डारीले बताउनुभयो । यस वर्ष नोभेम्बरको अन्तिममा सुरु हुनुपर्ने अफसिजन चाँडै सुरु भएको २२ वर्षदेखि ठमेलमा व्यापार गर्दै आउनुभएकी भण्डारीको गुनासो छ । पहिलाको तुलनामा यस वर्ष व्यापार ह्वात्तै घटेको भन्दै उहाँले भन्नुभयो, “पहिला दिनको आठदेखि दशसम्म फोटो बिक्री गरिन्थ्यो, अहिले दुई–तीनवटा पनि बेच्न मुस्किल छ, घर चलाउनै गाह्रो भएको छ ।”

कोभिड–१९ को महामारीपछि व्यापारले विस्तारै गति लिन थालेको ट्रेडिङ सपका सञ्चालक सुशील पाण्डेले बताउनुभयो । नेपालमा यो वर्ष गत वर्षको तुलनामा केही मात्रामा पर्यटक भित्रिएको भन्दै उहाँले अब फेब्रुअरीबाट व्यापार बढ्ने सुनाउनुभयो । पाँच वर्षदेखि व्यापार गर्दै आउनुभएका पाण्डेले दैनिक रु १५ देखि ३० हजारसम्म व्यापार हुने सुनाउनुभयो । अहिले उत्कृष्ट व्यापार नभए पनि दैनिकी चलाउन पुगिरहेको सुनाउनुभयो ।

पर्यटन व्यवसायी शिव लामिछानेले पर्यटन क्षेत्र राष्ट्रिय र अन्तर्राष्ट्रियसँग जोडिएको बताउनुभयो । महामारीपछि ठमेलले पुनःजीवन पाउनेमा आफूहरू आशावादी रहेको भन्दै नेपालको पर्यटनको समग्र विकासका लागि चीन–नेपालको सीमा खुलाउनुपर्नेमा उहाँले जोड दिनुभयो । कोरोना महामारी अगाडिको तुलनामा ३० प्रतिशत पर्यटक मात्र देशमा भित्रिएको मण्डला ह्याण्डीक्राफ्टका सञ्चालक ध्रुव पाण्डेले सुनाउनुभयो ।

एयरलाइन्सको टिकट महँगो भएकाले विदेशी नेपाल नआएको पनि उहाँको टिप्पणी छ । पर्यटक नआउँदा स्वतः व्यापारमा कमी आउने उहाँको भनाइ छ । कोरोना महामारी अगाडि वार्षिकरूपमा नेपालमा १२–१३ लाख पर्यटक आउने गरेको पनि उहाँले उल्लेख गर्नुभयो । व्यापारीहरूले सामानको मूल्य आफूखुसी तोक्ने गरेको भन्दै उहाँले त्यसबारे सरकारले नियमन गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array