ओरेण्टल सहकारी पीडितले बचत मागदावी गर्ने अन्तिम म्याद शुक्रबार

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ पुष २०७९, बिहीबार
3 Min Read
Aa

काठमाडौँ,  ओरेण्टल कोअपरेटिभ लिमिटेडमा बचत गरेका बचतकर्ताले प्रमाणसहित निवेदन पेश गर्ने अन्तिम दिन शुक्रबारसम्म रहेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले मङ्सिर २३ गते १५ दिनको समय थप गरी ओरेण्टल पीडितलाई अनलाइनमार्फत मागदावी गर्न सूचना प्रकाशित गरेको थियो । त्यसअनुसार पीडितले शुक्रबारसम्म अनलाइनमार्फत आवेदन दिनुपर्ने समितिको कार्यालय प्रमुखसमेत रहनुभएका सदस्य सचिव केशवप्रसाद पौडेलले राससलाई जानकारी दिनुभयो ।

आवेदन समितिको वेबसाइट www.coopmc.gov.np मा गएर अनलाइन मागदावी निवेदनबाट फारम भर्नुपर्ने उहाँले बताउनुभयो । समितिले अनलाइनबाट नै फारम भर्नुपर्ने जनाएको छ । हालसम्म तीन हजार छ सय ७५ जनाले ओरेण्टलसँग मुद्दती बचत, साधारण बचत र शेयर रकम माग दावीको अद्यावधिक गरेका छन् । अद्यावधिक माग दावी गर्ने बचतकर्ताले रु दुई अर्ब ७७ करोड सात लाख ६९ हजार ६८२ माग गरेको कार्यालयले जनाएको छ ।

सरकारले पहिलोपटक २०७४ कात्तिक २० गते समस्याग्रस्त घोषणा गरेको ओरेण्टल को–अपरेटिभ लिमिटेडले देशभर नौ शाखा खोली रु १० अर्ब भन्दामाथि बचत सङ्कलन गरेर भागेको अभिलेख पाइएको समितिको कार्यालयले जनाएको छ । यसअघि माग दावी गर्नेमा सहकारीका बचतकर्ताको साँवा, ब्याज, शेयर र अपार्टमेन्टको समेत गरी रु १० अर्ब भन्दामाथि पैसा फिर्ता गर्नुपर्ने अभिलेख रहेको समितिले जनाएको हो । विसं २०७४ मा सहकारी मन्त्रिस्तरीय निर्णय गरी ओरेण्टललाई समस्याग्रस्त घोषणा गरिएको थियो ।

सरकारले समस्याग्रस्त घोषणा गरेपछि एउटा पत्रमात्र पठाएर अरु कागजात नदिँदा बचतकर्ताको पैसा फिर्ताका लागि प्रमाण जुटाउन समस्या भएको कार्यालय प्रमुख पौडेलले बताउनुभयो । ओरेण्टललाई पहिलोपटक समस्याग्रस्त घोषणा गरेपछि सात हजार छ सय ४६ जनाले पैसा डुबेको भन्दै मागदावी गरेको पनि उहाँले सुनाउनुभयो । ओरेण्टललाई समस्याग्रस्त घोषणा गरेको केही समयमै सर्वोच्च अदालतमा मुद्दा परेको थियो । सर्वोच्चले २०७६ फागुन ११ गते सहकारीलाई नै बचत फिर्ताको समस्या समाधान गर्न आदेश दिएको थियो । सहकारी सञ्चालक समितिले समस्या समाधान नगरेपछि सरकारले दोस्रोपटक ओरेण्टललाई समस्याग्रस्त घोषणा गरेको हो ।

यस वर्ष गत असोज ७ गते सरकारले दोस्रोपटक ओरेण्टललाई समस्याग्रस्त घोषणा गरेको थियो । दोस्रोपटक समस्याग्रस्त घोषणा गरेपछि यही मङ्सिर ९ गते मागदावी गर्नेको अभिलेख अद्यावधिक गर्न सुरु गरिएको समितिका सदस्य सचिव समेत रहनुभएका पौडेलले राससलाई जानकारी दिनुभयो । पहिलोपटक सूचना जारी गरिएको अवधिभित्र ओरेण्टलका धेरै बचतकर्ताको निवेदन दर्ता हुन थालेपछि मङ्सिर २३ गतेदेखि १५ दिनको अवधि राखेर फेरि अर्को सूचना जारी गरिएको पनि उहाँले बताउनुभयो । यो अवधि शुक्रबार सकिने पनि समितिको कार्यालयले जनाएको छ ।

समितिले बचतकर्ताको अद्यावधिक आवेदन माग गरेपछि ओरेण्टलका पूर्वअध्यक्ष सुधीर बस्नेत रोक्न माग गर्दै सर्वोच्च अदालत गएकामा अन्तरिम आदेश नगरी दुवै पक्षलाई लिखित जवाफ पेश गर्न आदेश भएको छ । सरकारले हालसम्म १२ सहकारीलाई समस्याग्रस्त घोषणा गरी त्यसको व्यवस्थापन गर्ने जिम्मेवारी समितिलाई दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array