हेटौँडा सिमेन्ट उद्योगबाट पुनः उत्पादन थालियो

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ पुष २०७९, शुक्रबार
1 Min Read
Aa

हेटौँडा ,करिब एक महिनाअघिदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरिएको छ ।

गत मङ्सिरको पहिलो हप्ताबाट सिमेन्ट उत्पादन गर्ने क्रममा आगो बाल्ने भट्टीमा प्रयोग हुने प्रि फिल्टर फ्यान, विद्युतीय मोटरलगायत केही उपकरण बिग्रिएर उत्पादन बन्द गर्नुपरेको सो उद्योगले जनाएको छ । विद्युतीय उपकरणको पाटपुर्जा बाहिरबाट खरिद ल्याई जडान गरिएको र सो उद्योगमा रहेको केही उपकरणको पनि मर्मतसम्हार पूरा गरी सिमेन्ट उत्पादनलाई बिहीबारदेखि सञ्चालनमा ल्याइएको हेटौँडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले जानकारी दिनुभयो ।

नेपाल सरकारद्वारा २०३२ सालमा स्थापना गरिएको हेटौँडा सिमेन्ट उद्योगले २०४३ मङ्सिरदेखि व्यावसायिक रुपमा उत्पादन सुरु गर्दैआएको थियो । सो उद्योगमा अहिले दैनिक १२ हजारदेखि १६ हजार बोरासम्म सिमेन्ट उत्पादन गर्ने गरिएको छ ।

हेटौँडा सिमेन्ट उद्योगको परिसरभित्र सो उद्योगले केही वर्ष अगाडि स्थापना गरी सञ्चालनमा ल्याइएको सिमेन्टको धुलो नियन्त्रण गर्ने उपकरणबाट केही महिनाअघिदेखि हेटौँडा नगर क्षेत्रभित्र सिमेन्टको धुलो सर्वसाधारणको घर, गोठ र खेतबारीमा पस्ने गरेको गुनासो थियो । धुलो बाहिर निस्किने प्रक्रियालाई नियन्त्रण गरिएको हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बताउनुभयो ।

सो उद्योगबाट उत्पादित गुणस्तरीय सिमेन्ट हेटौँडालगायत काठमाडौँ, पोखरा, भैरहवा, धनगढी, नेपालगञ्ज, विराटनगरलगायत सहरमा बिक्रवितरण भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्