इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ सम्पन्न, १४ विधा सम्मानित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ पुष २०७९, शनिबार
4 Min Read
Aa

काठमाण्डौं । सूचना तथा प्रविधिको क्षेत्रमा काम गरिरहेका व्यक्ति तथा संस्थालाई प्रोत्साहन गर्ने लक्ष्यका साथ लिभिङ विथ आइसिटीले हरेक वर्ष आयोजना गर्दै आएको आइसिटी अवार्डको ‘ग्रान्ड फिनाले’ सम्पन्न भएको छ ।

कार्यक्रममा १४ विधामा अवार्ड प्रदान गर्दै सातौँ संस्करणको इन्फोडेभलपर्स आइसिटी अवार्ड २०२२ उत्साहजनक सहभागितासहित सम्पन्न भएको हो ।

कार्यक्रममा मुख्यसचिव शङ्करदास बैरागीले आइसिटीको क्षेत्रमा केही फड्को मारेको भए पनि नेपालले गर्नुपर्ने कामका धेरै क्षेत्र रहेको बताउनुभयो । “आइसिटी जीवन जिउने एउटा तरिका भइसकेको छ,” उहाँले भन्नुभयो, “हरेक क्षेत्रमा आइसिटीले नेतृत्वदायी भूमिका निर्वाह गरेको छ । आइसिटीबाट देशको विकासलाई तीव्रत्तर गतिमा अगाडि बढाउनुपर्छ ।”

त्यसैगरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले आइसिटी क्षेत्रको विकासका लागि आवश्यक सहयोग तथा सहकार्य गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । उहाँले सरकारका तर्फबाट यस क्षेत्रको विकास र संवद्र्धनका लागि आवश्यक सहयोग एवम् सहजीकरण भइरहेको उल्लेख गर्नुभयो ।

यस वर्ष अवार्डका लागि पाँच सय ५० बढीको अनलाइन आवेदन प्राप्त भएको अवार्डका संयोजक राजन लम्सालले जानकारी दिनुभयो । त्यसका लागि झन्डै पाँच महिनासम्म छनोट प्रक्रिया सञ्चालन गरिएको थियो । यस वर्ष १४ विधामा आइसिटी अवार्ड प्रदान गरिएको छ भने सातै प्रदेशका उत्कृष्ट सात स्टार्टअपलाई समेत सम्मान र प्रमाणपत्र गरिएको छ ।

यस वर्षको हुवावे स्टार्टअप आइसिटी अवार्ड मोनाल टेकलाई प्रदान गरिएको छ । त्यस्तै प्रडक्ट आइसिटी अवार्ड गल्ली म्याप्सलाई र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड कारोबार एपलाई प्रदान गरिएको छ । स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार विधामा विभिन्न चरणको छनोटपश्चात् पब्लिक भोटिङसमेत गरिएको कार्यक्रममा जानकारी दिइयो ।

त्यस्तै व्यक्तिलाई प्रदान गरिने इन्टरप्रेनर आइसिटी अवार्ड मङ्गेशलाल श्रेष्ठ, नेपाली डायस्पोरा आइसिटी अवार्ड डा वेद काफ्ले, नेपाल टेलिकम पायोनियर आइसिटी अवार्ड विजयकृष्ण श्रेष्ठ र एनसेल वुमन आइकन आइसिटी अवार्ड शिला कंसाकार कार्कीलाई प्रदान गरिएको छ ।

संस्थाहरूलाई प्रदान गरिने डिजिटल एजुकेसन आइसिटी अवार्ड (पब्लिक सेक्टर) बाफलको ज्ञानोदय मावि, डिजिटल एजुकेसन आइसिटी अवार्ड (निजी क्षेत्र ) खोकनाको ज्ञानोदय बालवाटिका स्कुल, डिजिटल सर्भिसेस आइसिटी अवार्ड फोनपे र डिजिटल गभर्नेन्स आइसिटी अवार्ड वैदेशिक रोजगार विभागलाई दिइएको छ ।

यस्तै सबैभन्दा बढी पब्लिक भोट ल्याउने ‘टिग’लाई पब्लिक च्वाइस आइसिटी अवार्ड प्रदान गरिएको छ भने साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड चिङ्गारीलाई प्रदान गरिएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका ५० बढी स्टार्टअपको प्रतिस्पर्धाबाट चिङ्गारीले अवार्ड हात पारेको हो ।

कार्यक्रमको महत्वका बारेमा जानकारी दिँदै आइसिटी अवार्ड संयोजक लम्सालले नेपालमा डिजिटल इकोसिस्टम विकास गर्न विगत सात वर्षदेखि अवार्ड आयोजना गरिरहेका बताउनुभयो । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले स्थानीय तह पनि अब डिजिटल रूपमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।

सातै प्रदेशका सात उत्कृष्ट स्टार्टअप

गत चैतदेखि जेठसम्म लिभिङ विथ आइसिटीले सातै प्रदेशममा स्टार्टअप एन्ड आइडिया फेस्ट आयोजना गरेको थियो । देशैभरका स्टार्टअप तथा आइडियालाई प्रवद्र्धन र प्रोत्साहन गर्न आयोजना भएको उक्त कार्यक्रममा सातै प्रदेशका उत्कृष्ट स्टार्टअप छनोट गरिएको त्यस अवसरमा जानकारी दिइयो ।

छनोट भएका स्टार्टअप तथा आइडियालाई काठमाडौँ ल्याएर तीनदिने विशेष कार्यक्रम सञ्चालन गरिएको थियो भने नेपालका केही ठूला आइटी कम्पनीको भ्रमण पनि गराइएको थियो । सातै प्रदेशबाट छनोट भएका ३५ बढी स्टार्टअप र आइडियामध्येबाट प्रत्येक प्रदेशका सर्वोत्कृष्ट छनोट गरिएको छ ।

यसअनुसार प्रदेश १ बाट क्युरा हेल्थ, मधेस प्रदेशबाट इजिइट्स, बागमती प्रदेशबाट नलेज एक्सचेन्ज, गण्डकी प्रदेशबाट स्वस्तिक ग्रुप (स्वस्तिक न्युट्री फुड), लुम्बिनी प्रदेशबाट फरिद डटकम, कर्णाली प्रदेशबाट सुर्खेत सफ्ट र सुदूरपश्चिम प्रदेशबाट पाथीभरा सेन्सर सोलुसन उद्योगलाई प्रदेशका उत्कृष्ट स्टार्टअपका रूपमा सम्मान गरिएको थियो ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array