पाथीभरा मन्दिरमा दर्शनार्थीको भीड

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ पुष २०७९, बुधबार
4 Min Read
Aa

काठमाडौँ, मेचीनगर नगरपालिका–१३ मा रहेको धार्मिक एवं पर्यटकीय स्थल श्री पाउ पाथीभरा मन्दिरमा दर्शनार्थीको भीड लाग्न थालेको छ ।

विशेषगरी शनिबार र मंगलबार यहाँ दर्शन गर्नेको विहानैदेखि भत्तजन भीड लाग्ने गरेको छ भने अन्य दिन पनि उस्तै चहलपहल देखिन्छ । मन्दिरमा आन्तरिक तथा बाह्य भक्तजनहरुलाई लाइनमा राखेर पालैपालो दर्शन गर्न धाम समितिले व्यवस्था मिलाएको छ ।

पूर्वी नाका काँकरभिट्टादेखि १२ मिटर पश्चिम चारआलीमा रहेका मन्दिरमा नेपालका विभिन्न स्थानसँगै भारतका सिक्किम, दार्जीलिङ, आसाम, सिलगुढीलगायतका क्षेत्रबाट समेत दर्शनका लागि भक्तजनहरु आउने गरेको धार्मिक एवम् पर्यटकीय स्थल श्री पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रबर्द्धन समितिका अध्यक्ष तिलकप्रसाद गिरीले बताउनुभयो ।
ताप्लेजुङमा रहेको ठूली पाथीभरा माताको दर्शन गर्नु अघि भक्तजनले यहाँ रहेको पाउँ पाथीभरामा दर्शन गर्ने चलन रहेको छ । देवीदेवताका विभिन्न आकृतिले भरिपूर्ण दुर्लभ बृक्षको फेदमा देवीको मन्दिर रहेको छ । देवीको दर्शनका लागि विभिन्न समयमा १००८ श्री जगत गुरु बालसन्त मोहनशरण, देवाचार्य श्री १००८ महामण्डलेश्वर हेमान्नद गिरीजी महाराज, व्यासाचार्य धर्मगुरू श्री किशोर गौतम, समालोचक मोदनाथ प्रश्रितलगायत आइसक्नुभएको छ ।
मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र उपप्रमुख मीना पोखरेलले यसको संरक्षण, सम्बद्र्धन र विकासका लागि स्थानीय सरकारले सहयोग गर्ने बताउनुभएको छ । एक बर्षको अवधिमा रु. एक करोडभन्दा बढी आर्थिक कारोवार भएको धाम समितिले जनाएको छ ।

धार्मिक एवम् पर्यटकीय स्थल श्री पाउ पाथीभरा उत्तरगंगा प्रवेशद्वार पर्यटन प्रबर्द्धन समितिले आर्थिक बर्ष २०७८÷७९ मा रु. एक करोड ३३ लाख ४५ हजारको कारोवार भएको जनाएको हो ।
समितिका कोषाध्यक्ष प्रकाश बास्तालले सो रकम आजीवन सदस्य, पूँजीगत सहयोग अनुदान, दानपेटिका, मन्दिरमा चढाइएका जिन्सी सामाग्री, गरगहना विक्री, टिका, भेटीबाट संकलन भएको बताउनुभयो । उहाँले समितिमा हुने खर्च कटाएर हाल बैंकसहितको मौज्दात रु.४९ लाख २७ हजार ६२६ रकम रहेको बताउनुभयो ।
जोड्ने

बाहुनडाँगीमा तरुल उत्सव हुँदै
प्रदेश नम्बर १ मै पहिलोपटक झापाको बाहुनडाँगीमा तरुल उत्सव हुने भएको छ । मेचीनगर–४ बाहुनडाँगीमा तरुल खेतीको प्रवद्र्धन गर्न र बालबालिका तथा युवा पुस्तालाई तरुलको बारेमा जानकारी दिने उद्देश्यले तरुल उत्सव आयोजना हुने भएको हो ।

हात्तीले पनि नखाने, स्वास्थ्यकर खानाको रुपमा रहेको तरुलको पहिचान गराउने र कृषि पर्यटनमा टेवा पुर्याउने उद्देश्यले माघे संक्रान्तिको अवसर पारेर तरुल उत्सवको आयोजना गर्न लागेको मेचीनगर नगरपालिका–४ वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिनुभयो । “हिजो हाम्रा बाबु बाजेले खाजाको रुपमा खाने तरुलको महत्व हराउँदै गयो”, उहाँले भन्नुभयो, “मम, चाउमिन र चाउचाउ जस्ता तयारी खाजामा रुमलिएका हाम्रा नानीहरुले तरुल नै नचिन्ने भए । तरुल चिनाउन आज उत्सव नै आयोजना गर्नुपर्ने भयो ।”

उहाँले उत्सवमा ग्रामीण क्षेत्रमा उत्पादन हुने, घर तरुल, सिमल तरुल, सुढुनी तरुल, बनतरुललगायत परम्परागत कृषि औजारहरुको समेत उत्सवमा प्रर्दशनी गरिने बताउनुभयो ।

उहाँले बाहुनडाँगीबासीले दैनिक आउने जंगली हात्तीकोबाट अन्न जोगाउन नसके पछि पछिल्लो समय धान, मकैलगायतका खेतीको विकल्पमा सुपारी, मरिच, तेजपत्ता, चिया खेती गर्दै आएको बताउनुभयो । उहाँले सुपारीखेती भित्रै तरुलको व्यवसायिक खेती गर्न सकिने हुँदा कृषि विज्ञहरुद्वारा स्थानीयवासीलाई उत्सवमा तरुलको महत्व र खेतीको बारेमा जानकारी दिइने बताउनुभयो ।
उत्सवमा मेचीनगर क्षेत्रका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुलाई समेत उपस्थिति गराएर विभिन्न चित्रकला प्रतियोगिता, सांस्कृतिक कार्यक्रम तथा तरुलको परिकारका बारेमा बुझाइने उहाँको भनाइ छ । उत्सवको आयोजना मेचीनगर–४ ले गर्ने उहाँले बताउनुभयो । –

प्रतिक्रिया दिनुहोस्