प्रशिक्षकलाई परीक्षा बोर्डको प्रशिक्षण कार्यशाला

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० पुष २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौँ, स्तरीय परीक्षाका लागि प्रश्न निर्माण सीप विकास गर्न राष्ट्रिय परीक्षा बोर्डले प्रशिक्षकलाई प्रशिक्षण दिएको छ । चितवनमा ३३ जिल्लाका प्रशिक्षकलाई सो प्रशिक्षण दिइएको हो । मङ्गलबारदेखि सुरु भएको कार्यशाला बिहीबारसम्म सञ्चालन हुनेछ ।

परम्परागतरूपमा सञ्चालित परीक्षा प्रणालीलाई सुधार गर्ने कार्ययोजनाअनुसार प्रशिक्षकलाई प्रशिक्षण दिइएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । शैक्षिक मूल्याङ्कनलाई खास स्तरको मापदण्डमा पु¥याई उच्च गुणस्तरयुक्त शिक्षा बनाउन स्तरीय परीक्षा प्रश्न निर्माण गर्नुपर्नेमा जोड दिँदै उहाँले स्तरीय परीक्षा आगामी वर्षदेखि सञ्चालन गर्ने गरी तयारी गरिएको जानकारी दिनुभयो । यसका लागि प्रश्न निर्माणसम्बन्धी तालिम देशभर सञ्चालन गरी सात सय ५३ स्थानीय तहका शिक्षकलाई तालिम नै प्रदान गरिने योजना रहेको छ ।

स्तरीय परीक्षण निर्माणमा विज्ञको समूहबाट प्रश्नपत्र निर्माण,सुधार, पूर्वपरीक्षण, उपयुक्त प्रश्न छनोट, प्रश्न बैंक निर्माण, समरुप परीक्षण तथा परीक्षा सञ्चालनजस्ता कुरा पर्दछन् । स्तरीय परीक्षामा निर्माण गरिएका प्रश्न वैध र विश्वसनीय हुने शैक्षिक गुणस्तर परीक्षा केन्द्रका श्यामप्रसाद आचार्यले बताउनुभयो । उहाँले वैधता कायम गर्न पूर्वपरीक्षण गरिएका प्रश्नपत्र प्रयोग गरी परीक्षा सञ्चालन गरिने बताउनुभयो ।

कार्यशालामा सहभागी ३३ जिल्लाका अङ्ग्रेजी, गणित र विज्ञान विषयका एक एक जना प्रशिक्षकको उपस्थिति रहेकामा बागमती प्रदेशका १३, गण्डकीका ११, लम्बिनीका छ, मधेस प्रदेशका तीन जिल्लाका प्रशिक्षक सहभागी छन् । तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा अङ्ग्रेजी विषयमा डा टीकाराम भट्ट र पशुराम तिवारी, गणित विषयमा रमेशप्रसाद अवस्थी तथा विज्ञान विषयमा जयप्रकाशलाल श्रीवास्तव र खिलनारायण श्रेष्ठले प्रशिक्षण दिनुहुने छ ।

प्रतिक्रिया दिनुहोस्

Array