नेपाल टी–ट्वान्टी लिग क्रिकेट ः लुम्बिनी अल स्टार विजयी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ, पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग क्रिकेटमा लुम्बिनी अल स्टारले काठमाडौंँ नाईट्सलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा लुम्बिनीले काठमाडौँलाई एक सय दुई रनले पराजित गरेको हो । सत्र ओभरमा छोट्याइएको खेलमा लुम्बिनीले दिएको एक सय ८४ रनको लक्ष्य पछ्याएको काठमाडौँ १५ दशमलब ४ ओभरमा सबै विकेट गुमाएर मात्र ८१ रनमा समेटियो ।

काठमाडौँका लागि बसिर अहमदले २२ तथा कमलसिंह ऐरीले १६ रन बनाए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले समान १५÷१५ रनको योगदान दिए । बलिङतर्फ लुम्बिनीका लागि ह्यारी टेक्टर, कुशल भुर्तेल र इशान पाण्डेले समान दुई÷दुई विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाएर एक सय ८३ रन बनायो । लुम्बिनीका लागि हरमित सिंहले ७० रनको योगदान दिए । यस्तै लाहिरु मिलान्थाले २६, गुलसन झाले २१, ह्यारी टेक्टरले १७, अनिल शाहले १६ तथा कुशल भुर्तेल १५ रन बनाए । बलिङतर्फ काठमाडौँका लागि अभिनाश बोहोराले तीन तथा बसिर अहमदले दुई विकेट लिए ।

जितसँगै लुम्बिनीले हालसम्म खेलेको नौ खेलमध्ये आठमा जित र एकमा हारका साथ १६ अङ्कसहित शीर्ष स्थानमा छ । हारसँगै काठमाडौँले आठ खेलमध्ये चारमा जित र चारमा हारका साथ आठ अङ्क जोडेको छ । काठमाडौँ अङ्क तालिकाको तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्