चलचित्र क्षेत्रलाई सहयोग गर्न प्रहरी तयार छ : प्रहरी प्रवक्ता

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २० पुष २०७९, बुधबार
2 Min Read
Aa

काठमाडौँ, नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले चलचित्र क्षेत्रलाई सहयोग गर्न प्रहरी सदैव तत्पर रहेको बताउनुभएको छ ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित नेपाल प्रहरी र चलचित्र विज्ञसँगको अन्तक्र्रियामा प्रवक्ता राईले कलाकार र चलचित्र क्षेत्रलाई सहयोग गर्न नेपाल प्रहरी सदैव तत्पर रहेको बताउनुभएको हो ।

नेपाल प्रहरीको प्रमुख दायित्व नागरिकको जीउधनको सुरक्षा गर्ने भएकाले प्रहरी राम्रो भएमा मात्र समाज राम्रो हुने उहाँले बताउनुभयो । उहाँले प्रहरीलाई नकारात्मक चरित्रका रूपमा मात्र प्रस्तुत गर्दा प्रहरी सेवाप्रति नागरिकको आकर्षण कम हुनसक्ने चिन्ता व्यक्त गर्नुभयो ।

प्रवक्ता राईले तल्लो दर्जाको प्रहरी कार्यक्षेत्रका वास्तविक हिरो भएकाले उनीहरूको कथावस्तुलाई चलचित्रले समेटोस् भन्ने अपेक्षा व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र छायाङ्कनका क्रममा प्रहरीसँग सम्बन्धित हातहतियार, पोशाक, सवारीसाधन र छायाकङ्नस्थलको प्रयोगलाई थप व्यवस्थित गर्न नेपाल प्रहरीको महत्त्वपूर्ण सहयोग प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभयो ।

उहाँले पछिल्लो समयमा चलचित्र छायाङ्कनमा ड्रोनको प्रयोग अनिवार्य जस्तै भएकाले यसको प्रयोग सहजीकरण गर्न प्रहरीसँग आग्रह गर्नुभयो । नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष नवल खड्काले चलचित्र निर्माणका क्रममा नेपाल प्रहरीसँग सम्बन्धित दृश्य सुधार गर्न प्रयत्नरत रहेको बताउँदै यसका लागि नेपाल प्रहरीको तर्फबाट समन्वय अधिकृत व्यवस्थापन गरिदिए सहज हुने उल्लेख गर्नुभयो ।

वरिष्ठ कलाकार नीर शाहले नेपाल प्रहरीसँग चलचित्र उद्योगको इतिहास जोडिएको चर्चा गर्दै आगामी दिनमा समेत पारस्परिक सहयोग आदानप्रदान गर्न नेपाली चलचित्र उद्योग तयार रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ कलाकार कृष्ण मल्ल, वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटा, नेपाल चलचित्र प्राविधिक सङ्घ, नेपाल चलचित्र कलाकार सङ्घ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र निर्माण सङ्घ, गीतकार सङ्घ नेपाललगायत संस्थाका अध्यक्ष तथा प्रतिनिधिको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्