‘एक हजार शय्याको बाल अस्पताल बनाउन मन्त्रालय लागेको छ’

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ पुष २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले कान्तिबाल अस्पताललाई एक हजार शय्याको अतिविशिष्टीकृत बाल अस्पताल बनाउन मन्त्रालय लागिपरेको बताउनुभएको छ ।

आज यहाँ आयोजित कान्ति बालअस्पतालको ६१औँ वार्षिकोत्सव कार्यक्रममा गुरुयोजनाअनुसार नै अस्पतालको स्तरोन्नतीका लागि मन्त्रालयले काम गरिरहेको बताउनुभयो । यसका लागि आवश्यक कर्मचारी दरबन्दीका लागि समेत अर्थ र सङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र पठाएको उहाँको भनाइ छ ।

“अस्पतालमा नर्सिङ जनशक्तिको अभाव कायमै छ, आवश्यक कर्मचारी दरबन्दीका लागि अर्थ र सामान्य प्रशासन मन्त्रालयमा पत्र पठाइसकेका छौँ”, उहाँले भन्नुभयो ।

सेवाग्राहीको बढ्दो चापअनुसार सेवा उपलब्ध गराउन आवश्यक कर्मचारी दरबन्दी थप गर्न अर्थ मन्त्रालयबाट सहमति जुटाउने प्रयास भइरहेको मन्त्रालयकै सचिव देवकुमारी गुरागाईंले बताउनुभयो । उहाँले भन्नुभयो, “अर्थ र सामान्य प्रशासन मन्त्रालयबाट सहमति ल्याउनका लागि तपाईंहरुको साथ चाहिएको छ ।”

अस्पतालका निर्देशक डा युवानिधि बसौलाले राष्ट्रिय बाल स्वास्थ्य अध्ययन संस्थानका रुपमा विकास गर्न र एक हजार शय्याको अस्पताल बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम भइरहेको जानकारी दिनुभयो ।

वार्षिकोत्सवका अवसरमा अस्पताल परिसरमा ‘वाटर भेन्डिङ मेसिन’ (वाटर एटिएम) सुरुआत गरेको छ । वाटर एटिएमबाट रू एकमा चिसो र तातो पिउने पानी उपलब्ध हुन्छ ।

कूल ५२ शय्याको आकस्मिक कक्ष सुरु गर्न १५ जना स्टाफ नर्स र १० जना सिनियर मेडिकल अफिसर (एमओ) गरी दरबन्दी ८३ पु¥याउन अस्पतालले मन्त्रालयलाई आग्रह गर्दै आएको छ ।

कार्यक्रममा चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालका उपकुलपति प्रा डा डीएन शाहले हरेक प्रदेशमा एउटा बाल अस्पताल निर्माण गर्नुपर्ने बताउनुभयो । सन् १९६३ मा ५० शय्याबाट सुरु भएको कान्तिबाल अस्पतालमा अहिले तीन सय ३० शय्याबाट सेवा प्रवाह भइरहेको छ ।

अस्पतालले आर्थिक वर्ष २०७८/७९ मा एक लाख १६ हजार चार सय ५३ जनालाई बहिरङ्ग सेवा उपलब्ध गराएको थियो । साथै उक्त अवधिमा अस्पतालबाट ४४ हजार आठ सय ९२ जनाले आकस्मिक सेवा र दुई हजार पाँच सय २६ जनाले सर्जरी सेवा लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array