तारकेश्वरमा आगामी माघ १ देखि स्वास्थ्य बीमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २३ पुष २०७९, शनिबार
2 Min Read
Aa

काठमाडौँ, काठमाडौँको तारकेश्वर नगरपालिकामा आगामी माघ १ देखि सामाजिक न्यायमा आधारित स्वास्थ्य बीमा कार्यक्रम सुरु हुने भएको छ । तारकेश्वर नगरपालिकाको स्वास्थ्य शाखाले आज महिला स्वास्थ्य स्वयम् सेविकाका लागि स्वास्थ्य बीमासम्बन्धी सचेतना कार्यक्रम आयोजना गरी आगामी महिनादेखि नगरपालिकाभर स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्न लागेको जानकारी दिएको हो ।

सचेतना कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार शाहले नेपाली नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले सरकारले थालेको स्वास्थ्य बीमा कार्यक्रम तारकेश्वमा लागू गर्न लागेको जानकारी दिनुभयो ।

नेपालको संविधान, २०७२ को धारा ३५ मा स्वाथ्यसम्बन्धी हकलाई नेपाली नागरिकको मौलिक हकका रूपमा समेटिएको छ । यस्तै, संविधानको धारा ५१ ‘ज’ १५ मा राज्यका नीति निर्देशक सिद्धान्तअन्तर्गत नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै उनीहरुको स्वास्थ्योपचारमा पहुँचको व्यवस्था मिलाउने भनी किटान गरिएको छ । स्वास्थ्य बीमा गर्नका लागि पाँच जनासम्मको परिवारले वार्षिक रु तीन हजार पाँच सय र पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्यको थप सात सय बीमा रकम तिर्नुपर्ने हुन्छ ।

स्वास्थ्य शाखा प्रमुख शाहले स्वास्थ्य बीमा गरेमा सरकारले निःशुल्क प्रदान गर्ने सेवासँगै बहिरङ्ग, अन्तरङ्ग र आकस्मिक कक्षबाट प्रदान गरिने सेवा, स्वास्थ्य बीमा कार्यक्रमले तोकेका र परीक्षण सेवा पनि पाउने बताउनुभयो । पाँच जनाको परिवारले आवश्यक पर्दा वार्षिक रु एक लाख र पाँच जनाभन्दा बढी सदस्य भएका परिवारले प्रतिसदस्य २० हजार रुपैयाँ थप गरी दुई लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा उपभोग गर्न पाउने उहाँको भनाइ छ ।

स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्नका लागि आज नगरपालिकाले नगरभित्रका एक सय ८८ महिला स्वास्थ्य स्वयम् सेविकालाई स्वास्थ्य बीमासम्बन्धी सचेतना कार्यक्रमसमेत दिएको थियो । काठमाडौँभित्र यसअघि कागेश्वरी–मनोहरा नगरपालिका र टोखा नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्