शक्ति बाँडफाँटमा कांग्रेसलाई ढोका खुला ! कांग्रेसको चासो राष्ट्रपतिमा, एमाले कांग्रेसविनाकै बाँडफाँटको पक्षमा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ माघ २०७९, आईतवार
5 Min Read
Aa

सहमति जुटाउन प्रधानमन्त्रीको पहल, कांग्रेसको चासो राष्ट्रपतिमा, एमाले कांग्रेसविनाकै बाँडफाँटको पक्षमा

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई पनि राष्ट्रपति, उपराष्ट्रपति र सभामुखको शक्ति बाँडफाँटमा हिस्सेदारी गराउन पहल थालेका छन् । संविधानको रक्षाका लागि भन्दै प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको कांग्रेसले शक्ति बाँडफाँटमा राष्ट्रपतिमा चासो राखेको छ । तर, सत्तासाझेदारमध्ये सबैभन्दा ठूलो दल एमालेले भने शक्ति बाँडफाँटमा कांग्रेस सहभागी नहुने टिप्पणी गरेको छ ।

सरकारलाई विश्वासको मत दिएसँगै कांग्रेस नेताहरू राष्ट्रपति आफ्नो पक्षमा पार्न गृहकार्यमा लागेका छन् । यसका लागि कांग्रेस नेताले संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलका नेतासँग भेटघाट जारी राखेका छन् । ५ माघमा हुने सभामुखको निर्वाचनका लागि सबै दलसँग छलफल गरेर अघि बढ्ने कांग्रेसले निर्णय गरिसकेको छ ।

कांग्रेस नेताले राष्ट्रपतिमा चासोबारे औपचारिक प्रतिक्रिया नदिए पनि प्रधानमन्त्री प्रचण्डले शक्ति बाँडफाँटमा कांग्रेसका लागि ढोका खुला गरिसकेका छन् । आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय सहमतिको स्वरूप लिइसकेको भन्दै प्रधानमन्त्रीले राष्ट्रपति र सभामुखमा पनि आफूले त्यस्तै अभ्यास गर्न चाहेको बताएका छन् ।

प्रधानमन्त्री प्रचण्डले शक्ति बाँडफाँटमा राष्ट्रिय सहमति जुटाउन आफूले सर्वदलीय बैठकसमेत आह्वान गरेको जानकारी दिएका छन् । बालुवाटारमा सम्पादकहरूसँगको भेटघाटमा प्रचण्डले राष्ट्रपति र सभामुखका लागि कांग्रेससँग पनि छलफल हुने बताए । ३ माघमा सर्वदलीय बैठक बस्ने र सबै दलको छलफलबाट बाँडफाँट टुंगो लाग्ने उनको भनाइ छ ।

प्रचण्डले एमालेसँग सहमतिका क्रममा कांग्रेसको भूमिका प्रतिपक्षको हुने कल्पना गरेको र विश्वासको मतपछि परिस्थिति फरक परेकाले राष्ट्रपति र सभामुखका लागि कांग्रेससँग छलफल गर्नुपर्ने दायित्व बढेको प्रचण्डको भनाइ छ । ‘ओलीजी र मैले सहमति गर्दा कांग्रेस प्रतिपक्षमा हुन्छ भन्ने कल्पना थियो । कांग्रेसले नै मलाई प्रधानमन्त्रीमा विश्वासको मत दिएपछि मेरो पनि जिम्मेवारी हुने भयो,’ प्रचण्डले भने, ‘राष्ट्रपति, उपराष्ट्रपति, सभामुख छनोट गर्नुअघि कसरी हुन्छ राष्ट्रिय सहमतिको वातावरण कायम गर्ने भन्नेतिर गम्भीर भएर लागेको छु । ३ माघमा सर्वदलीय बैठक बोलाएको छु, त्यहाँबाट सबै स्पष्ट हुन्छ ।’ प्रचण्डले ओलीसँगको परामर्शमा बैठक बोलाएको दाबी गरे ।

८ पुसमा बसेको पदाधिकारी बैठकले यसको जिम्मा सभापति देउवालाई दिएको छ । देउवाले छलफलका लागि आफूनिकट नेतालाई अगाडि सारेका छन् । शनिबार मात्रै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेका छन् ।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको पौडेलले बताए । ‘हिजो निर्वाचनमा पनि हामी सँगै थियौँ । अहिले पनि भेट भई नै रहन्छ । समसामयिक विषयमा छलफल भयो, कुनै विशेष छलफल भएको होइन,’ पौडेलले भने । कांग्रेसमा पौडेललाई राष्ट्रपतिका प्रमुख आकांक्षी मानिन्छ ।

तर, एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ कांग्रेस शक्ति बाँडफाँटमा सहभागी हुने अवस्था नरहेको र उसले अहिले एमाले–माओवादी सम्बन्धमा दरार ल्याउन प्रयास गरिरहेको बताए । ‘सरकारलाई उहाँहरूसँगको भोट आवश्यक थिएन, उहाँहरूले नै भोट दिनुभयो । कांग्रेसले विश्वासको मत दिएर एमाले र माओवादीमा आशंका जन्माउन खोजेको हो, यो सफल हुँदैन,’ उनले भने, ‘अध्यक्ष ओली र प्रधानमन्त्री प्रचण्डबीचको छलफलमा राष्ट्रपति एमालेले पाउने र सभामुखमा आलोपालोको सहमति भएको हो । बैठक बस्दैमा केही परिवर्तन हुँदैन । हामी सहमतिअनुसार अघि बढ्छौँ ।’

राष्ट्रपतिमा कांग्रेसले आकांक्षा राखेको कांग्रेस उच्च स्रोतले पुष्टि गरेको छ । ‘सभामुखभन्दा पनि हाम्रो चासो राष्ट्रपतिमा हो । प्रधानमन्त्रीले पनि राष्ट्रपति र सभामुखका लागि कांग्रेससँग छलफल गर्छु भनेर सञ्चारमाध्यममा भनिसक्नुभएको छ,’ कांग्रेस स्रोतले भन्यो, ‘तत्कालीन अवस्थामा मत दिएर प्रचण्डप्रति विश्वास बढाउने काम भएको हो । त्यस्तो लिखित सहमति भएको होइन । मत दिएपछि स्वाभाविक रूपमा प्रधानमन्त्रीसँग हामीबाट आफ्नो दाबी रहने ठाउँ त रहन्छ नि ! उहाँले गरेको संकेत पनि त्यही हो ।’

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने कांग्रेसमा राष्ट्रपति र सभामुखलगायत विषयमा छलफल भइरहेको बताए । ‘पार्टीमा सबै विषयमा छलफल भइरहेको छ । काठमाडौंबाहिर रहेकाले पछिल्लो अवस्थाबारे जानकारी छैन । प्रचण्डजीको भनाइ के आयो र अभिव्यक्ति कता लक्षित छ, बुझ्न पाएको छैन,’ उनले भने ।

विश्वासको मत लिने समयमा प्रचण्डले पनि कांग्रेसले विश्वासको मत दिनुमा कुनै लेनदेनको सहमति नरहेको बताएका थिए । कांग्रेसले एमालेबाट संविधानमाथि चुनौती रहेको भन्दै संविधान जोगाउने सर्तमा प्रधानमन्त्री प्रचण्डलाई विश्वास मत दिने बताएको थियो । ‘वर्तमान सत्तागठबन्धनका प्रमुख घटकका नेताबाटै संवैधानिक व्यवस्थालाई चुनौती दिएको परिप्रेक्ष्यमा संविधानको रक्षाका लागि खरो रूपमा उभिने चुनौती हाम्रोसामुन्ने आएको छ । वर्तमान प्रधानमन्त्रीका लागि पनि यो परीक्षणको घडी हो,’ सभापति शेरबहादुर देउवाले संसद्मा सम्बोधनका क्रममा भनेका थिए ।

राष्ट्रपतिको कार्यकाल आगामी २९ फागुनमा सकिँदै छ । निर्वाचन आयोगले २८ माघभित्र निर्वाचन गराउने तयारी गरेको छ । कांग्रेस नेताहरूले राष्ट्रपतिको निर्वाचनसम्ममा समीकरणमा फेरबदलको सम्भावनालाई अस्वीकार गरेका छैनन् । सत्तारूढ दल एमालेले भने कांग्रेसले विश्वासको मत दिनुलाई शंकाको नजरले हेर्दै आएको छ ।

सरकारलाई विश्वासको मत दिने प्रस्तावमाथिको छलफलका क्रममा एमाले अध्यक्ष ओलीले कांग्रेसको निर्णयमाथि जालझेलको शंका गरेका थिए । ‘यदि यो समर्थनभित्र सदासयताबाहेक अरू कुरा छैन भने, यदि यो समर्थन कुनै जाल होइन भने, या समर्थन कुनै ढोक्सा होइन भने स्वागतयोग्य छ । ढोक्सा हो भने, जाल हो भने, म भन्न चाहन्छु– माछा नभएको खोलामा फ्याँकेजस्तै हुनेछ जाल । केही यसभित्र भोलिका निम्ति अरू खालको कुराहरू सोचिएको छ भने ढोक्सा रित्तै हुनेछ,’ ओलीले भनेका थिए । nayapatrika

प्रतिक्रिया दिनुहोस्

Array