कामपाको संशोधन बजेट पारित

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ माघ २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ, काठमाडौँ महानगरपालिकाको नगरसभाको १२औँ अधिवेशन रु दुई अर्ब ७२ करोड ६९ लाख ६३ हजार बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव पारित गर्दै सकिएको छ । कामपाका प्रमुख बालेन्द्र साहको अध्यक्षतामा हिजो बसेको बैठक संशोधन बजेट पारित गर्दै सकिएको हो । कामपाको उपप्रमुख सुनिता डङ्गोलले अधिवेशनको पहिलो बैठकमा संशोधन बजेट प्रस्ताव पेश गर्नुभएको थियो । गत ११औँ नगरसभाबाट चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रममध्ये रु चार अर्ब ३६ करोड ७१ लख सात हजार बजेटका कार्यक्रमलाई संशोधनका लागि प्रस्ताव गरिएको थियो ।

प्रस्ताव गरिएका संशोधन बजेटमध्ये छलफलबाट करिब तीन अर्ब मात्र पारित भएको हो । हिजोको बैठकमा विभिन्न छ कार्य सूची रहेको थियो । हिजो भएको दोस्रो बैठकबाट सभाबाट आर्थिक ऐन २०७९, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७, बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७, कर्मचारी सेवा ऐन २०७७ संशोधन गर्न बनेका विधेयक पारित भएको छ । त्यसैगरी सार्वजनिक निजी साझेदारी तथा लगानी विधेयक २०७९ पनि पारित भएको छ । सभाले जनप्रतिनिधिको सुविधा सम्बन्धी विधेयक २०७९ पारित गरेको छ ।

यससँगै कृषि तथा पशुपंक्षी विभाग गठन भएको छ । यसअघि जनस्वास्थ्य विभागमा रहेको खाद्य गुणस्तर तथा पशुपंक्षी महाशाखा तथा अन्तर्गतका शाखा र वातावरण व्यवस्थापन विभागसँग रहेको कृषि महाशाखालाई जोडेर विभाग गठन गरिएको हो । कानुन तथा मानवअधिकार विभाग मातहतमा रहेको मिसिल शाखालाई सहरी व्यवस्थापन विभागअन्तर्गत लगिएको छ । यससम्बन्धी प्रस्ताव नगरसभाअन्तर्गत सुशासन समितिका संयोजक सिर्जना भेटवालले प्रस्तुत गर्नुभएको थियो ।

कामपाको सङ्गठन र दरबन्दी संरचना पुनरावलोकनका लागि प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा रहेको समितिलाई जिम्मेवारी दिइएको छ । यससम्बन्धी अध्ययनलाई कार्य पालिकामा लगिनेछ । निर्देशित जग्गा विकास कार्यक्रम, यसको मापदण्ड र मापदण्ड कार्यान्वयनका विषयबारे नगरसभा सदस्यले चर्चा गर्नुभएको थियो । त्यस क्रममा वडाध्यक्ष रामकुमार केसी, चिनीकाजी महर्जन, योगेश खड्गी लगायतले वडा नं. ३१ म निर्देशित जग्गा विकास कार्यक्रमअन्तर्गत सडकमा परेको भवन संरचनामाथि गरिएको कारबाहीका विषयमा कामपा प्रमुखसँग कारण माग गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array