‘सहकारी अभियान अनुशासनमा रहनुपर्छ ’

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ माघ २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौँ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सहकारी अभियान र अभियन्ताले कठोर अनुशासनमा रहनुपर्ने भएकाले कानुनको परिपालनामा सदा सचेत रहन आग्रह गर्नुभएको छ ।

अर्थतन्त्रको एउटा भरोसायोग्य खम्बा सहकारी भए पनि अहिले धेरै समस्याबाट जकडिएको बताउँदै उहाँले केही सहकारीले बचतकर्ताहरूको बचत फिर्ता नगर्ने र अर्थतन्त्रका नियम पालना नगरेका गुनासा आउने गरेको उल्लेख गर्नुभयो ।

सचिव रेग्मीले भन्नुभयो, “बचतकर्ताको रकम असुरक्षा गर्ने सहकारी संस्था दण्डित गर्ने सिलसिलामा सहकारी सङ्घ र महासङ्घको सकारात्मक सहयोग हुनु आवश्यक छ ।”

एसियाली सहकारी ऋण महासङ्घकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भी स्यान रोक्के र प्राविधक अधिकृत प्रमुख रञ्जित हित्तराचीसँगको भेटमा उहाँले बचतको सुरक्षा र अभियानले सम्पत्ति शुद्धीकरण नियन्त्रणमा सकारात्मक रहनुपर्नेमा जोड दिनुभयो । एलिनिता र रञ्जितले नेपालको सहकारी अभियानलाई भरोसायोग्य बनाउन पछिल्लो समय भएको प्रयासको प्रशंसा गर्दै त्यसमा एसियाली सहकारी ऋण महासङ्घको सकारात्मक सहयोग रहने विश्वास दिलाउनुभयो ।

सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सहकारीलाई सम्पत्ति शुद्धीकरणमुक्त बनाउन र बचतकर्ताको बचत सुरक्षा गर्न मन्त्रालय र विभाग क्रियाशील रहेको बताउनुभयो ।

नेफ्स्कुनका अध्यक्ष पारितोष पौडेलले वित्तीय सहकारिताको आगामी कार्यदिशा सुरक्षित र शुद्ध सहकारी अभियान भएको धारणा राख्नुभयो । नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेलले बचतकर्ताको बचतको सुरक्षा र सम्पत्ति शुद्धीकरण नियन्त्रणका लागि नेफ्स्कुनले काम गरिरहेको उल्लेख गर्नुभयो ।

राष्ट्रिय सहकारी महासङ्घका महाप्रबन्धक चित्रा थाम्सुहाङ्गले बचतकर्ताको बचतको सुरक्षा नगर्ने सहकारीलाई कानुनी दायरामा ल्याउन महासङ्घले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्