अन्तःशुल्क नतिरेका विदेशी मदिरा र सुर्तीजन्य पदार्थ बजारमा छ्यापछ्याप्ती

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ माघ २०७९, सोमबार
4 Min Read
Aa

काठमाडौँ, राजस्व छली गरेर अवैध रुपमा नेपाल भित्रिएका मदिरा र सुर्तीजन्य पदार्थ बजारमा छ्यापछ्याप्ती देखिएका छन् । आन्तरिक राजस्व विभाग र मातहतका विभिन्न राजस्व कार्यालयले पछिल्लो १५ दिन अवधिमा गरेको अनुगमनका क्रममा १७ स्थानमा कैफियत भेटिएको हो ।

बजार अनुगमनका क्रममा माघ १५ गतेसम्म काठमाडौँ उपत्यकालगायत विभिन्न छ स्थानमा भएको अनुगमनबाट १७ वटा पसलमा अन्तःशुल्क नतिरेका मदिरा र सुर्तीजन्य वस्तु देखिएको हो । आन्तरिक राजस्व विभागका अनुसार चोरीपैठारी गरेर नक्कली अन्तःशुल्क टिकट प्रयोग नभएका करिब रु १८ लाख बराबरको सामान बरामद भएको छ । त्यस्ता कसुरमा संलग्न केही व्यक्तिलाई हिरासतमा लिई थप अनुसन्धानसमेत भइरहेको विभागले जनाएको छ ।

यस वर्ष सरकारले लक्ष्यअनुसार राजस्व उठाउन सकिरहेको छैन । अन्तःशुल्कजन्य वस्तु अवैध रुपमा भित्रिएर राजस्व छली हुँदा कम असुली भएको हुनसक्ने शङ्का लागेपछि अनुगमन बढाइएको आन्तरिक राजस्व विभागले जनाएको छ । “अन्तःशुल्क लक्ष्यअनुसार उठ्न नसक्नुमा बजार अनुगमन प्रभावकारी रुपमा हुन नसकेको हो कि भन्ने प्रश्न थियो । पछिल्लो १५ दिनमा विभिन्न १७ ठाउँमा अन्तःशुल्क छली गरेका सामान भेटिएका छन्”, विभागका सूचना अधिकारी राजुप्रसाद प्याकुरेलले भन्नुभयो ।

विभागका अनुसार आन्तरिक राजस्व कार्यालय भद्रपुरबाट भएको अनुगमनमा रुद्र कोल्ड सेन्टर, झरना कोल्ड स्टोर्स, हिमाली कोल्ड सेन्टर, पुरी किराना पसल, स्तभ्य स्टोर्स र पुरी किराना पसलबाट अवैध अन्तःशुल्कजन्य वस्तु जफत भएका छन् । रुद्र कोल्ड सेन्टर र झरना कोल्ड स्टोर्समा अवैध रुपमा नेपाल भित्रिएको ‘सिक्किमे रम भेटिएको थियो । रुद्र कोल्ड सेन्टरका सञ्चालक रुद्रबहादुर विष्ट र झरना कोल्ड स्टोर्सका सञ्चालक महेन्द्र बर्देवालाई गिरफ्तार गरी अनुसन्धान कार्य अघि बढाएको छ ।

त्यस्तै, सिक्किमे रम भेटिएको अर्को पसल हिमाली कोल्ड सेन्टरका सञ्चालक धनकुमार थुलुङलाई पनि गिरफ्तार गरी अनुसन्धान अघि बढाइएको विभागले जनाएको छ । भद्रपुरकै पुरी किराना पसलमा एक सय ८० किलो सुर्ती र केही बिँडी बरामद भएपछि सञ्चालक गङ्गाप्रसाद पुरी र स्तभ्य स्टोर्समा ५५ किलो खैनी भेटिएपछि सञ्चालक भुवन कार्कीलाई गिरफ्तार गरिएको छ ।

करदाता सेवा कार्यालय फिदिमले गरेको अनुगमनमा दीपा एन्ड पवन स्टोर्समा ‘सिक्किमे गोल्डेन ब्रान्ड’को मदिरा जफत गरेको छ । त्यस्तै, आन्तरिक राजस्व कार्यालय दमकले अनुगमनका क्रममा जवानी कोल्ड स्टोर्स सेन्टर र अपेक्षा कोल्ड स्टोर्समा भारतीय ब्रान्डका अवैध मदिरा भेटाएको छ ।

त्यस्तै, दमककै सोमिया सप्लायर्सबाट बिल बीजक नरहेका भारतीय ब्रान्डका दूधबाट बनेका अन्तःशुल्कजन्य वस्तु बरामद भएका छन् ।

आन्तरिक राजस्व कार्यालय महाराजगञ्जले गरेको अनुगमनमा जिउ हिउ स्याङ होटल एन्ड रेस्टुरेन्ट प्रालिमा १६ बोतल चिनियाँ अवैध मदिरा भेटिएको छ । उक्त मरिदाको बिल बीजक नरहेको र अन्तःशुल्क स्टिकर नटाँसिएको जनाइएको छ ।

त्यस्तै, आन्तरिक राजस्व कार्यालय ललितपुरले हान युयान कल्चर फुडमा पनि चिनियाँ मदिरा भेटेको थियो । आन्तरिक राजस्व कार्यालय पोखराको अनुगमनबाट म्याग्दी प्रोभिजन सपमा विभिन्न विदेशी ब्रान्डका मदिरा कारोबारका लागि अनुमति नै नलिईकन कारोबार गरेको भेटिएको छ ।

त्यस्तै, पोखराकै क्याप्टेन बास्तोला वाइन शपमा पनि अन्तःशुल्क स्टिकर नटाँसिएको भारतीय मदिरा जफत भएको थियो । पञ्चकोसी वाइन हाउसमा सुपर पावर ब्रान्डको स्टिकर टाँस नभएको सुर्ती र रोयल स्टाग ब्रान्डको मदिरा भेटिएको र सनिस वाइन हाउसमा पनि रोयल स्टाग ब्रान्डको मरिदामा स्टिकर टाँस नभएको देखिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्