सर्वोच्चको पूर्ण पाठपछि मात्रै गृह मन्त्रालयबारेमा निर्णय हुने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १७ माघ २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालतबाट पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयका सम्बन्धमा कुनै निर्णय नगर्न आफूलाई सबैतिरबाट सुझाव आएको बताउनुभएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले पूर्वगृहमन्त्री रवि लामिछानेका हकमा सर्वोच्च अदालतले शुक्रबार दिएको निर्णयको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयका सम्बन्धमा कुनै निर्णय नगर्ने सङ्केत गर्नुभएको हो । सञ्चारकर्मीले सोधको एक प्रश्नको जिज्ञासामा प्रधानमन्त्रीले आफूहरु संवादमा नै रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामी सल्लाह गर्दैर्छौ । सकेसम्म सत्ता साझेदार दल इन्गेज भइराख्ने गरी अघि बढ्छौँ ।” लामिछानेको नागरिकताका विषयमा सर्वोच्च अदालतको फैसलापछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको पदबाट लामिछाने हट्नु भएको थियो । आइतबार पुनः लामिछानेले काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिनुभएको थियो । नागरिकता लिएपछि आफूलाई पूर्ववत् पदमा फर्काउन लामिछानेले आग्रह गर्दै आउनु भएको छ ।

यस्तै, नेकपा(माओवादी केन्द्र)को आज बसेको पदाधिकारी बैठकमा साङ्गठनिक विषयमा छलफल भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो । बैठकमा पार्टीको आन्तरिक विषयमा मात्रै छलफल भएको उल्लेख गर्दै प्रवक्ता महराले पार्टीको स्थायी समितिको बैठक बुधबार पुनः बस्नेछ भन्नुभयो । प्रवक्ता महराले अदालतको पूर्ण पाठ नआउँदासम्म गृहमन्त्रीको विषयमा निर्णय नगर्न पदाधिकारी बैठकमासमेत कुरा उठेको जानकारी दिनुभयो । राष्ट्रपतिको निर्वाचनका बारेमा सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता महराले भन्नुभयो,“राष्ट्रिय सहमतिका आधारमा नै राष्ट्रपति चयन होओस् भन्नेमा पार्टीभित्र अधिकांशको समान धारणा छ ।” उहाँले राष्ट्रपतिको निर्वाचन हुन अझै समय बाँकी भएकाले सहमति जुट्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array