सञ्चारमन्त्री शर्माद्वारा नेपाल टेलिकमको वार्षिकोत्सव उद्घाटन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २२ माघ २०७९, आईतवार
3 Min Read
Aa

काठमाडौँ , सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमको वार्षिकोत्सव उद्घाटन गर्नुभएको छ । आज नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित वार्षिकोत्सव समारोहमा मन्त्री शर्माले उद्घाटन गर्नुभएको हो ।

नेपाल टेलिकम आज १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको छ । टेलिकमका दुई करोड १३ लाख २५ हजारभन्दा बढी ग्राहक छन् । कम्पनीले हरेक वर्ष माघ २२ मा वार्षिकोत्सव मनाउने गरेको छ । कम्पनीले मोबाइल टेलिफोन सेवा, जिएसएम, जीपीआरएस, थ्रीजी र फोरजी सेवा दिइरहेको छ ।

कार्यक्रममा मन्त्री शर्मासँगै मन्त्रालयका सचिव डा बैकुण्ठ अर्याल, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाललगायत उपस्थित हुनुहुन्छ ।

विसं २०३२ असार १ गते नेपाल दूरसञ्चार संस्थानको रूपमा भए पनि २०६० माघ २२ गते नेपाल दूरसञ्चार कम्पनीको रूपमा दर्ता भएको थियो । विसं २०६१ देखि यसलाई नेपाल टेलिकम भन्न थालियो । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको टेलिकम विसं २०६१ वैशाख १ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेडमा रुपान्तरण गरियो ।

कम्पनीको आर्थिक वर्ष २०७८÷८९ को कुल राजस्व रू ४४ अर्ब ३७ करोड छ । जसमा खुद नाफा रू आठ अर्ब ४७ करोड छ । कम्पनीको ग्राहकसेवा भ्वाइस सेवातर्फ २०७९ मङ्सिरसम्मको विवरणमा दुई करोड १३ लाख २५ हजारभन्दा बढी रहेको छ । सोमध्ये जीएसएम मोबाइल ग्राहक दुई करोड एक लाख ६८ हजार, एडिएसएल सेवाका चार लाख ३७ हजार र पिएसटीएन सेवाका चार लाख ५५ हजार रहेका छन् । त्यसैगरी एफटिटीएच भ्वाइस सेवाका ग्राहक दुई लाख ४७ हजार एक सय १४ छन् भने एफटिटीएच डाटाका ग्राहक दुई लाख ११ हजार पाँच सय ७९ रहेका छन् । यो अवधिमा फोरजी प्रयोगकर्ता एक करोड १५ लाख ५० हजार छन् । सन् २०२३ मा फाइभजी परीक्षण प्रारम्भ भएको छ ।

विसं २०७९ असोज महिनाको नेपाल दूरसञ्चार प्राधिकरणको एमआइएस प्रतिवेदनअनुसार भ्वाइस सेवातर्फ कम्पनीको बजार हिस्सा कुल ५२.२४ प्रतिशत रहेको छ । टेलिकमका अनुसार हालसम्म देशका ७७ वटै जिल्लाका सात सय ३९ स्थानीय तहमा फोरजी एफटीइ सेवाको पहुँच स्थापित भएको छ । फोरजी विस्तारकार्य हालसम्म ९८ प्रतिशत सम्पन्न भइसकेको छ ।

टेलिकमले देशभरमा पिएसटीएन, सिडिएमएलगायत आधारभूत टेलिफोन र जिएसएम र सिडीएमएजस्ता मोबाइल सेवा प्रदान प्रदान गर्ने गरेको छ । इन्टरनेट सेवामा डायल–अप आइएसडीएम र सिडीएमएजस्ता मोबाइल सेवा प्रदान गर्ने गरेको टेलिकमले इन्टरनेट सेवामा डायल–अप आइएसडीएन लिज्ड एडिएसएल इन्टरनेट र स्काइ डाटामार्फत वायरलेस इन्टरनेट सेवा प्रदान गर्ने गर्दछ ।

बैंक तथा विभिन्न निकायलाई तथ्याङ्क आदन-प्रदान गर्न लिज्ड सर्किटको सेवासमेत टेलिकमले दिने गरेको छ । कम्पनीमा हाल करिब चार हजार कर्मचारी कार्यरत छन् । विसं १९७० मा काठमाडौँमा म्याग्नेटो सिस्टमको स्थापना भई नेपालमा दूरसञ्चार सेवाको थालनी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्